दृष्टिबन्धकको जग्गा बैंकमा राखेर चार करोड झिकी ठगी गरेको आरोपमा धनुषामा तीन जना पक्राउ

बिजमाण्डू
२०८३ साउन २ गते १२:४० | Jul 18, 2026
दृष्टिबन्धकको जग्गा बैंकमा राखेर चार करोड झिकी ठगी गरेको आरोपमा धनुषामा तीन जना पक्राउ


जनकपुरधाम। दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर चार करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकैपरिवारका तीन जनालाई पक्राउ गरेको छ।

GBIME
Tata

अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा फरार धनुषाको जनकपुरधाम-१६ कपिलेश्वरका ५३ वर्षीय गोपाल साह, उनकी पत्नी ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साह पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुपक खड्काले बताए।

गोपाललाई जनकपुरको एक होटलबाट, रेखालाई धनुषाको नगराइन नगरपालिकाको जटहीस्थित सीमा नाकाबाट र छोरा हरेरामलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। जनकपुरधाम-२ का गोविन्दकुमार साहले व्यापार गर्नका लागि गोपाल साहसँग जग्गा दृष्टिबन्धमा राखी कपाली तमसुक गरेर ९९ लाख रुपैयाँ ऋण लिएका थिए। गोविन्दले जग्गा दृष्टिबन्धकमा रजिष्ट्रेसन गरिदिएका थिए।

जग्गाधनीलाई थाहै नदिइ गोपाल साहसहित तीनै जनाले जग्गा बैंकमा धितो राखी ४ करोड रुपैयाँ ऋण लिएको पाइएको प्रहरी उपरीक्षक खड्काले बताए। गोपालको घरबाट प्रहरीले जग्गाधनी पुर्जा ५० थान, नागरिकता प्रमाणपत्र १८ थान, एक थान ल्यापटप र विभिन्न छाप तथा नक्साहरु बरामद गरेको छ।

पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।