काठमाडौं। विभिन्न औद्योगिक क्षेत्रका उद्योगले सरकारको निर्देशनपछि भाडा बुझाउने क्रम बढेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ७ दिनभित्र बक्यौता चुक्ता नगरे बत्ती र पानीको लाइन काट्ने चेतावनी दिएपछि उद्योगले भाडा बुझाउने क्रम बढेको हो।
मन्त्रीको निर्देशनपछि उद्योगहरुले हालसम्म ४६ करोड ७३ लाख रुपैयाँभन्दा बढी भाडा बुझाएका छन्। त्यसमध्ये ५६ लाख ६० हजार रुपैयाँ बिहीबार उठेको मन्त्री यादवको सचिवालयले जनाएको छ।
भाडा तिरेका ५ वटा उद्योगमा विद्युत लाइन जोडिएको छ। बक्यौता नतिरेका २१ वटा उद्योगमा विद्धुत लाइन काटिएको अवस्था छ।
मन्त्री यादवको निर्देशनमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बक्यौता बुझाउन गत जेठ २५ गते ७ दिनको समय दिएर सूचना निकालेको थियो। सबैभन्दा बढी बक्यौता कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज प्रालिको नाममा छ। यो कम्पनीले ३ करोड ७५ लाख रुपैयाँ भाडा तिर्न बाँकी छ।









