काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमशीलता विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले बिहीबार महिला उद्यमी महासंघ नेपालका पदाधिकारीलाई सिंहदरबारमा बोलाएर छलफलका क्रममा महिला उद्यमीले भोग्नुपरेका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए।
बालेनले महिला उद्यमीले उत्पादन गरेका वस्तुको हरेक पर्यटकीय स्थलमा प्रवर्धन गर्ने वातावरण मिलाउने समेत बताएको उनको सचिवालयले जनाएको छ।
महासंघका प्रतिनिधिले निर्धक्कसँग काम गर्न सक्ने व्यवसायमैत्री वातावरण बनाउन, वस्तु तथा सेवालाई राष्ट्रिय-अन्तर्राष्ट्रिय बजारमा पुर्याउनका लागि व्यापार मेला, प्रदर्शनीमा अनिवार्य रुपमा सहभागी गराउन माग गरेका थिए।
उनीहरुले महासंघको ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गराउन आग्रह गरेकामा बालेनले स्वीकार गरेका थिए।
उनीहरुले सबै सरकारी कार्यालय एवं शैक्षिक संस्थामा महिला उद्यमीका वस्तु तथा सेवा अनिवार्य खरिद गर्ने व्यवस्था लागू गर्न समेत बालेनको ध्यानाकर्षण गराएका थिए।
उनीहरुले वास्तविक महिला उद्यमीले वित्तीय सहुलियत नपाएको गुनासो गर्दै पुँजी अभावमा सपना मर्न नदिनका लागि धितोको वैकल्पिक व्यवस्था मिलाउन समेत माग गरेका थिए।








