उद्योगमन्त्री र अमेरिकी कार्यबाहक राजदूतबीच भेटवार्ता, नेपाली वस्तुलाई सहुलियत दिन आग्रह



बिजमाण्डू
२०८३ असार ३२ गते १२:३५ | Jul 16, 2026
उद्योगमन्त्री र अमेरिकी कार्यबाहक राजदूतबीच भेटवार्ता, नेपाली वस्तुलाई सहुलियत दिन आग्रह


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले नेपाली वस्तुलाई अमेरिकी बजारमा सहुलियतपूर्ण प्रवेशको व्यवस्था गर्न अमेरिकासँग आग्रह गरेकी छन्।

Tata
GBIME

उनले बिहीबार आफूसँग शिष्टाचार भेटका लागि मन्त्रालयमा उपस्थित भएका नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बमसँग नेपाली वस्तुको सहूलियतपूर्ण प्रवेश सुनिश्चित गर्न आग्रह गरेको हुन्।

उनले सन् २०१५ मा सुरु भएको ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’को अवधि सन् २०२५ डिसेम्बरमा समाप्त भइसकेको स्मरण गराउँदै अमेरिकी बजारमा नेपाली वस्तुको पुनः सहुलियतपूर्ण पहुँच सुनिश्चित गर्न सहयोगको अपेक्षा राखेको बताएको उनको सचिवालयले जनाएको छ।

नेपालका लागि अमेरिका हाल दोस्रो ठूलो निर्यात गन्तव्य हो। त्यहाँ नेपालबाट ऊनी गलैंचा, तयारी पोशाक, पश्मिना लगायत वस्तु पठाउने गरिएको छ।

मन्त्री यादवले दुई देशबीचको ‘व्यापार तथा लगानी ढाँचा सम्झौता’अन्तर्गतको संयन्त्रलाई सक्रिय बनाई द्विपक्षीय व्यापार र लगानी प्रवर्धन गर्नुपर्नेमा पनि जोड दिइन्।

उनले सरकारले नीतिगत तथा कानुनी सुधार गरी देशमा लगानीमैत्री वातावरण सुदृढ बनाइरहेको भन्दै जलविद्युत, नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग, डिजिटल अर्थतन्त्र जस्ता क्षेत्रमा अमेरिकी लगानी भित्र्याउनका लागि पहल गर्न आग्रह गरिन्।

कार्यबाहक राजदूत अर्बमले नेपालका चासोप्रति अमेरिका सकारात्मक रहेको जवाफ दिएका थिए।