ठमेल, वसन्तपुर र पाटन दरबार क्षेत्रलाई ‘कार-फ्री जोन’ बनाइने, ५८ किलोमिटर साइकल लेन प्रस्ताव



बिजमाण्डू
२०८३ असार ३२ गते ११:२२ | Jul 16, 2026
ठमेल, वसन्तपुर र पाटन दरबार क्षेत्रलाई ‘कार-फ्री जोन’ बनाइने, ५८ किलोमिटर साइकल लेन प्रस्ताव
वसन्तपुर क्षेत्र


काठमाडौं। उपत्यकाको शहरी यातायातलाई पैदलमैत्री र पर्यटकमैत्री बनाउने भन्दै ठमेल, वसन्तपुर र पाटन दरबार क्षेत्रलाई कार-फ्री जोनका रुपमा प्रस्ताव गरिएको छ।

Tata
GBIME

पूर्वाधार विकास मन्त्रालय र जाइकाले तयार पारेको ‘काठमाडौं भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टर प्लान’मा तीन स्थानलाई कार-फ्री जोन बनाउन प्रस्ताव गरिएको हो। ती क्षेत्रमा मोटरसाइकल लगायत सवारीसाधनको प्रवेश रोक्न ब्यारिकेड राखिनेछ।

ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्षेत्रलाई सवारी चापबाट मुक्त गर्दै पैदलयात्री, पर्यटक र स्थानीयका लागि सुरक्षित गर्न कार-फ्री जोन बनाउने प्रस्ताव गरिएको हो।

पाटन दरबार क्षेत्र वरपरको पैदलमार्ग विस्तार गर्ने प्रस्ताव छ। वसन्तपुरमा युनेस्कोले प्रस्ताव गरेअनुसारको ठाउँलाई सवारीमुक्त बनाउने योजना अगाडि सारिएको हो।

ठमेललाई बिहान ९ बजेदेखि राति ९ बजेसम्म कार-फ्री जोन बनाउने प्रस्ताव गरिएको छ। व्यापारिक क्षेत्र भएकाले ठमेलमा सामान ढुवानीलाई ध्यानमा राखेर छुट्टै व्यवस्थापन गरिने मास्टर प्लानमा उल्लेख छ।

कार-फ्री जोनको सीमा रंगीन सडक चिन्हमार्फत स्पष्ट रुपमा निर्धारण गरिनेछ।

कार-फ्री जोन बनाउनका लागि वसन्तपुर क्षेत्रमा करिब १२ करोड र ठमेलमा करिब ३ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान छ। पाटन दरबार क्षेत्रका हकमा ललितपुर महानगरले योजना कार्यान्वयन गर्नेछ।

साइकल लेन ५८ किलोमिटर

मास्टर प्लानमा काठमाडौंका विभिन्न स्थानमा करिब ५८ किलोमिटर लामो साइकल लेन निर्माण गर्न प्रस्ताव गरिएको छ। यो योजनाले काठमाडौं र ललितपुर महानगरका विद्यमान तथा प्रस्तावित साइकल मार्गलाई एकीकृत गर्ने लक्ष्य राखेको छ।

विश्व सम्पदा सूचीमा रहेका क्षेत्रलाई साइकल लेनमार्फत जोड्ने योजना प्रस्ताव गरिएको छ। प्राथमिकतामा राखिएका २४ वटा सडक खण्डमध्ये २ वटा खण्डमा ४.५३४ किलोमिटरको डेडिकेटेड साइकल लेन निर्माण गर्ने भनिएको छ। थप दुई खण्डमा सवारीसाधनसँगै प्रयोग हुने २.९० किलोमिटर सेयर्ड लेनको व्यवस्था गर्न प्रस्ताव गरिएको छ।

सडकको अवस्था र उपलब्ध स्थानअनुसार छुट्टै साइकल लेन तथा सवारीसाधनसँग साझेदारी गर्ने साइकल लेन दुवै मोडल अपनाउने प्रस्ताव छ। साइकल लेनले मोटर सवारीमा निर्भरता घट्ने, प्रदूषण कम हुने तथा स्वस्थ र दिगो शहरी यातायात प्रणाली विकासमा टेवा पुग्ने विश्वास।