दश खेलाडीमा समेटिएको स्वीट्जरल्याण्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा



बिजमाण्डू
२०८३ असार २८ गते ०९:४४ | Jul 12, 2026
दश खेलाडीमा समेटिएको स्वीट्जरल्याण्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा
गोलपछि अर्जेन्टिनी खेलाडीको सेलिब्रेसन। Photo: AP via RSS


काठमाडौं। अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा पुगेको छ। आज सम्पन्न क्वाटरफाइनलको अन्तिम खेलमा स्वीटजरल्याण्डलाई अतिरिक्त समयमा ३-१ गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो।

Tata
GBIME
Nepal Life

कन्सास सिटी स्टेडियममा निर्धारित ९० मिनेटको समयमा १-१ गोलको बराबरीमा रोकिएपछि खेल लम्बिन पुगेको थियो। अतिरिक्त समयमा जुलियन आल्भारेज र लाउटारो मार्टिनेजले गोल गरेपछि साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको हो।

निर्धारित ९० मिनेट १-१ को बराबरीमा रोकिए पनि १० खेलाडीमा सीमित स्वीट्जरल्याण्डविरुद्ध अर्जेन्टिनाले अतिरिक्त समयमा आफ्नो अनुभव र आक्रमणको दममा दवाब बढाउँदै जित सुनिश्चित गर्‍यो।

खेलको १०औं मिनेटमै कप्तान लियोनल मेस्सीको कर्नरमा एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा अर्जेन्टिनाले खेल नियन्त्रणमा राखे पनि दोस्रो हाफमा स्वीट्जरल्याण्डले उत्कृष्ट पुनरागमन गर्‍यो।

६७औं मिनेटमा डान एन्डोएले रिकार्डो रोड्रिगेजसँगको आकर्षक समन्वयपछि गोल गर्दै खेल बराबरीमा ल्याए।

तर, खेलको निर्णायक मोड ७२औं मिनेटमा आयो। भीएआरको समीक्षापछि स्वीस स्ट्राइकर ब्रिल एम्बोलोले दोस्रो पहेंलो कार्डसहित रातो कार्ड पाउँदै बाहिरिँदा स्वीट्जरल्यान्ड १० खेलाडीमा सीमित भयो।

संख्यात्मक रूपमा अघि रहेको अर्जेन्टिनाले अन्तिम समयमा लगातार दबाब सिर्जना गरे पनि निर्धारित ९० मिनेटको समयमा जित निकाल्न सकेन।

अतिरिक्त समयको ११२औं मिनेटमा विकल्पका रूपमा मैदान प्रवेश गरेका होसे मानुएल लोपेजको पासमा जुलियन आल्भारेजले पेनाल्टी क्षेत्रबाहिरबाट शानदार घुमाउरो प्रहार गर्दै अर्जेन्टिनालाई फेरि अग्रता दिलाए।

त्यसपछि इन्जुरी समय स्वीट्जरल्याण्ड आक्रमणमा उत्रिएका बेला अर्जेन्टिनाले काउन्टअट्याक गर्‍यो। थियागो आल्माडाको प्रहार गोलकिपर ग्रेगर कोबेलले रोके पनि रिबाउन्डमा लाउटारो मार्टिनेजले सहज गोल गर्दै ३-१ गोलको जित पक्का गरे।

खेलअघि अर्जेन्टिनाका खेलाडीले दिवंगत पूर्वकप्तान तथा महान् मिडफिल्डर एन्टोनियो उबाल्दो राट्टिनको सम्मानमा कालो आर्मब्यान्ड लगाएर मैदान उत्रिएका थिए।

यो जितसँगै अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप सेमिफाइनल यात्रा तय गरेको छ। अब उपाधि रक्षाको होडमा रहेको अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। इङ्गल्याण्डले आजै नर्वेलाई हराएर सेमिफाइनलमा स्थान बनाएको थियो।