हाल्याण्ड विरुद्ध ह्यारी केन : विश्वकपको सेमिफाइनल पुग्न इङ्ग्ल्याण्ड र नर्वेमा को कति बलियो?



बिजमाण्डू
२०८३ असार २७ गते १९:१५ | Jul 11, 2026
हाल्याण्ड विरुद्ध ह्यारी केन : विश्वकपको सेमिफाइनल पुग्न इङ्ग्ल्याण्ड र नर्वेमा को कति बलियो?
ह्यारी केन र अर्लिङ हाल्याण्ड। Photo: AFP via RSS


काठमाडौँ। फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा हुन अब मात्र दुई स्थान बाँकी छ। आज राति क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् जसले सेमिफाइनलको समीकरण पूरा गर्नेछन्।

Tata
GBIME
Nepal Life

आज रातिको पहिलो खेलमा इङ्ग्ल्याण्ड र नर्वे आमनेसामने हुँदा दोस्रो खेलमा अर्जेन्टिना र स्वीट्जरल्याण्ड भिड्नेछन्। यी दुई खेलमा गोल्डनबुटको प्रतिस्पर्धामा रहेका तीन खेलाडी मैदानमा उत्रनेछन्। अर्जेन्टिनी कप्तान लियोनल मेस्सी, फ्रान्सका किलियन एम्बाप्पेसँगै इङ्गल्याण्डका ह्यारी केन र नर्वेका अर्लिङ हल्याण्ड गोल्डन बुटको होडमा छन्। यी मध्ये फ्रान्सका एम्बाप्पेले आफ्नो टोलीलाई सेमिफाइनल पुर्‍यासकेका छन्।

यसमा चर्चा आइतबार बिहान पौने ३ बजे सुरु हुने इङ्ग्ल्याण्ड र नर्वेबीचको खेलको गरिनेछ।

आज राति मियामी स्टेडियममा हुने इङ्ग्ल्याण्ड र नर्वेबीचको प्रतिस्पर्धाले दुबै टोलीलाई ठूलो अर्थ राख्छ। यही खेलबाट विश्व फुटबलका दुई गोल मेसिन अर्लिङ हाल्याण्ड र ह्यारी केनको व्यक्तिगत साख र ‘गोल्डेन बुट’ को लडाइँका हुनेछ। यी दुईमध्ये एकमात्र सेमिफाइनलमा पुग्नेछन्।

विश्वकप इतिहासमा यी दुई टोली पहिलो पटक आमनेसामने हुन लागेका हुन्। फ्रान्स र स्पेनले यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको अवस्थामा तेस्रो टोली बन्नका लागि आज इङ्ग्ल्याण्ड र नर्वे मैदान उत्रिँदै छन्।

हेडटूहेड रेकर्डलाई हेर्दा इङ्ग्ल्याण्ड नर्वेभन्दा निकै बलियो देखिन्छ। यी दुई टोलीबीच हालसम्म भएका १२ खेलमध्ये इङ्ग्ल्याण्डले ७ खेल जितेको छ भने नर्वेले मात्र २ खेलमा जित निकाल्न सकेको छ। बाँकी ३ खेल बराबरीमा सकिएका छन्। पछिल्ला चार भेटमा नर्वेले इङ्ग्ल्याण्ड विरुद्ध एक गोल पनि गर्न सकेको छैन।

विश्व प्रसिद्ध खेलकुद तथ्याङ्क प्रदायक संस्था ओप्टा सुपरकम्प्युटरले २५ हजार प्रिम्याच सिमुलेसनका आधारमा निकालेको प्रक्षेपण अनुसार पनि इङ्ग्ल्याण्ड स्पष्ट रूपमा हाबी देखिन्छ। यसमा निर्धारित समयभित्र इङ्ग्ल्याण्डले जित्ने सम्भावना ५०.४ प्रतिशत छ भने निर्धारित समयमा नर्वेले जित्ने २५.१ प्रतिशत छ। त्यस्तै खेल अतिरिक्त समयमा जाने सम्भावना २४.६ प्रतिशत छ भने अतिरिक्त समय र पेनाल्टी सुटआउट समेतलाई जोडेर सेमिफाइनल पुग्ने समग्र सम्भावनामा इङ्ग्ल्याण्ड ६२.३ सहित बलियो दाबेदार मानिएको छ भने नर्वेको सम्भावना ३७.७ मात्र छ।

हाल्याण्ड विरुद्ध ह्यारी केन: गोल्डेन बुटको टक्कर

जारी विश्वकपमा समूह ‘एल’ मा इङ्गल्याण्ड समूह विजेता बन्दै नकआउटमा पुगेको थियो। उसले आफ्नो समूहमा क्रोएसियालाई ४-२ र पानामालाई २-० गोलले हराउँदा घानासँग गोलरहित बराबरीमा रोकिएको थियो। राउण्ड अफ ३२ मा कंगोलाई २-१ गोलले हराएको उसले प्रिक्वाटरफायनलमा मेक्सिकोलाई ३-२ गोलले हराएको थियो।

अर्कोतर्फ, नर्वेले समूह ‘आई’ मा इराकलाई ४-१ गोलले तथा सेनेगललाई ३-२ गोलले हराउँदा फ्रान्ससँग ४-१ गोलले हार ब्यहोरेको थियो। राउण्डअफ ३२ मा आइभोरी कोस्टलाई २-१ गोलले हराएको उसले प्रिक्वाटरफाइनलमा ब्राजिललाई २-१ गोलले हराएर घर फर्काएको थियो।

यो खेल टोलीको प्रतिष्ठासँगै जारी विश्वकपको सर्वाधिक गोलकर्ता बन्ने दौडका लागिसमेत निर्णायक मोड साबित हुनेछ। हाल नर्वेका मुख्य स्ट्राइकर एर्लिङ हाल्याण्ड ७ गोलसहित शीर्ष गोलकर्तामा दोस्रो स्थानमा छन् भने इङ्ग्ल्याण्डका कप्तान ह्यारी केन ६ गोलसहित उनलाई पछ्याइरहेका छन्। यस दौडमा फ्रान्सका किलियन एमबाप्पे र अर्जेन्टिनाका लियोनेल मेसी ८-८ गोलसहित शीर्ष स्थानमा छन्।

खेलअघिको पत्रकार सम्मेलनमा इङ्ग्लिस कप्तान केनले हाल्याण्डको खुलेर प्रशंसा गरे। उनले हाल्याण्डलाई गोल मेसिन भन्दै खेलको तरिका फरक भएको बताए।

‘हामी दुवै नम्बर ९ (स्ट्राइकर) हौँ, तर खेल्ने शैली फरक छ। म अलि पछि हटेर बल होल्ड गर्न र गेम बिल्डअप गर्न मन पराउँछु भने उनी बक्सभित्र खतरनाख छन्। आशा छ, आजको खेलमा उनी शान्त रहनेछन्।’

नर्वेलाई मेक्सिकन फ्यानको साथ र भाइकिङ्सक्रेज

इङ्ग्ल्याण्ड बलियो देखिए पनि मैदान बाहिरको सेन्टिमेन्ट र फ्यानहरूको क्रेजले नर्वेको मनोबल उच्च बनाएको छ। अन्तिम १६ को खेलमा इङ्ग्ल्याण्डसँग पराजित भएर बाहिरिएको मेक्सिकोका लाखौँ फ्यानहरूले सामाजिक सञ्जालमा नर्वेलाई आफ्नो टोली घोषणा गर्दै ‘भाइकिङ्स’ को समर्थन गरिरहेका छन्।

हाल्याण्डले पनि मेक्सिकन फ्यानहरूसँग सामाजिक सञ्जालमा टिकटक ट्रेन्ड र ‘वाई सी सी?’ (यदि मैले इङ्ग्ल्याण्डलाई हराए भने नि?) भन्दै रमाइलो संवाद गरिरहेका छन्।