.jpg)
काठमाडौं। भारतका दुई ठूला गाडी निर्माता महिन्द्रा र मारुति आन्तरिक बजारभन्दा निर्यातमा केन्द्रित भएका छन्। स्वदेशी बजारमा गाडी बिक्री घटे पनि यी दुवै कम्पनीले अगस्ट २०२० को तुलनामा यो वर्षको सोही अवधिमा गाडी निर्यात बढाएका छन्।
गाडीमा लाग्ने सेमी-कन्डक्टर चिप अभावका कारण आन्तरिक बजारको माग धान्न गाह्रो परेको अवस्थामा पनि दुवै कम्पनीले निर्यात भने बढाउँदै लगेका छन्।
चिप अभावकै कारण भारतको बहुराष्ट्रिय गाडी निर्माता महिन्द्राले सेप्टेम्बर महिनामा सात दिन 'नो प्रडक्सन डे' घोषणा गरेको छ।
विश्वभर सेमी-कन्डक्टर चिपको चरम अभावका कारण अटोमोबाइल कम्पनीहरु ठूलो मारमा परिरहेका छन्। अगस्ट महिनामा केही गाडी कम्पनीहरुले वार्षिक एवम् मासिक ग्रोथ गरेपनि चिप अभावका कारण ग्रोथमा कमी आएको बताएका छन्।
सेप्टेम्बरमा भने चिप अभावको थप असर गाडी निर्माणमा पर्ने उनीहरुको आकलन छ। महिन्द्राले आफ्नो अटोमोटिभ डिभिजनलाई आवश्यकता अनुसार चिप आपूर्ति गर्न नसिएकाले उत्पादन रोक्ने रणनीति अनुसार 'नो प्रडक्सन डे' घोषणा गरिएको जनाएको छ। जसका कारण सेप्टेम्बरमा महिन्द्राको उत्पादन भोल्युम २० देखि २५ प्रतिशत घट्ने अनुमान गरिएको छ।
महिन्द्राले उत्पादन गर्ने ट्रयाक्टर र एक्सयुभी ७०० को उत्पादनमा चिप अभावले कुनै असर नगर्ने जनाएको छ। यी प्रडक्ट नो प्रडक्सन डेमा महिन्द्राले उत्पादन गर्नेछ। साथै कम्पनीले उक्त अवधिमा तीन पाङ्ग्रे सवारीको उत्पादनमा पनि असर नपर्ने जनाएको छ। भारतमा महिन्द्राले एक्सयूभी ७०० को बुकिङ खोल्ने तयारी गरिरहेको छ।
चिप अभावका कारण महिन्द्राको वार्षिक ग्रोथ अगस्टमा २१.६ प्रतिशतले घटेको कम्पनीले जनाएको छ। अघिल्लो महिना महिन्द्राले २१ हजार ३६० गाडी बिक्री गरेको थियो। अगस्ट २०२० मा २७ हजार २२९ गाडी बेचेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीले २०२१ को अगस्टमा ५ हजार ८६९ युनिट कम गाडी बिक्री गरेको छ।
भारतमा बिक्री घटे पनि महिन्द्राले आफ्नो उत्पादन निर्यातको आकडा भने बढाउन सफल भएको छ। महिन्द्राको गाडी निर्यात ४३ प्रतिशतले बढेको छ। कम्पनीले अगस्ट २०२० मा ९५५ युनिट निर्यात गरेको थियो भने अगस्ट २०२१ मा यो बढेर १३ सय ६३ पुगेको जनाएको छ।
महिन्द्रासँगै अर्को गाडी निर्माता मारुती सुजुकी इन्डिया लिमिटेडको उत्पादनमा समेत चिप अभावले असर पुर्याएको छ। मारुती पनि गाडी उत्पादन कटौती गर्न बाध्य भएको छ। मारुतीका अनुसार हरियाणा र गुजरात प्लान्ट दुवैमा कुल उत्पादनमध्ये ४० प्रतिशतले आउटपुट घट्ने अनुमान गरेको छ।
चिप अभावको असरका बाबजुद मारुती सुजुकीले वार्षिक ग्रोथ ४.८ प्रतिशतले बढाएको छ। भारतको सबैभन्दा ठूलो गाडी निर्माता सुजुकी इण्डियाले अगस्टमा एक लाख ३० हजार युनिट बिक्री गरेको छ। यो संख्या २०२० अगस्टको तुलनामा ४.८ प्रतिशतले बढी हो। अगस्ट २०२० मा मारुतिले एक लाख २४ हजार युनिट गाडी बिक्री गरेको थियो।
मारुतीले अगस्ट २०२० मा सात हजार ९२० युनिट गाडी निर्यात गरेको थियो। अगस्ट २०२१ मा भने २० हजार ६१९ युनिट गाडी निर्यात गरेको थियो। अघिल्लो वर्षको अगस्टभन्दा चालु वर्षको अगस्टमा १२ हजार ६९९ युनिट बढी गाडी निर्यात गरेको देखिन्छ।
मारुतीको समग्र सेल्स् भारतीय बजारमा ५.७ प्रतिशतले घटेको छ। २०२० अगस्टमा भारतमा मारुतीले एक लाख १६ हजार युनिट बिक्री गरेकोमा २०२१ अगस्टमा घटेर एक लाख १० हजार युनिट मात्रै बिक्री गरेको जनाएको छ।











