काठमाडौं। सन् २०२२ को कतार विश्वकप। बलियो टोलीको चर्चा चल्दा दूर-दूरसम्म नाम नसुनिएको मोरक्कोले चमत्कार नै गर्यो। एकपछि अर्को ‘जायन्ट’ टोलीलाई घर फर्काउँदै उसले सेमिफाइनलको यात्रा तय गर्यो।
सेमिफाइनलसम्मको उसको यात्रा र मैदानमा देखिएको लय हेर्दा लाग्थ्यो, सायद यसपाला विश्वकप नै पो मोरक्कोले जित्ला कि?
तर, सेमिफाइनल पुगेको मोरक्को फाइनल भने पुग्न सकेन। किलियन एम्बाप्पेको फ्रान्सले उसलाई सेमिफाइनलमै रोकिदियो।
चार वर्ष बित्यो। अहिले अमेरिका, क्यानडा र मेक्सिकोमा विश्वकपको माहोल जमेको छ। ४८ टोलीले सुरु गरेको प्रतिस्पर्धामा अब ८ टोलीमात्र उपाधिको होडमा छन्।
यही होडमा क्वाटरफाइनलमा आज फेरि भिड्दैछन् फ्रान्स र मोरक्को। आज राति पौने २ बजे हुने खेलमा मोरक्को चार वर्षअघि विश्वकपको सेमिफाइनलको हारको बदला लिन मैदान उत्रने छ। फ्रान्स पुरानै लयलाई दोहोर्याएर सेमिफाइनल पुग्ने लक्ष्यमा छ।
यस खेलको विजेताले सेमिफाइनलमा स्पेन वा बेल्जियममध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।

कस्तो छ फ्रान्स?
गत संस्करणमा उपविजेता बनेको फ्रान्स यसपटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ। समूह चरणका तीनै खेल जित्दै १० गोल गरेको फ्रान्सले प्रभावशाली सुरुआत गरेको थियो। कप्तान किलियन एम्बाप्पे सात गोलसहित गोल्डेन बुट दौडमा लियोनल मेस्सीसँगै अर्लिङ हाल्याण्ड र ह्यारी केनसँग चर्को प्रतिस्पर्धामा छन्।
समूह चरणमा सेनेगल, नर्वे र इराकलाई हराएको फ्रान्सले राउन्ड अफ ३२ मा स्वीडेनलाई ३-० ले हराएको थियो। उक्त खेलमा एम्बाप्पेले दुई गोल गर्दा ब्राडले बारकोलाले एक गोल थपेका थिए। त्यसपछि अन्तिम १६ मा पाराग्वेसँग भने फ्रान्सले निकै कठिन परीक्षा सामना गर्यो। ७०औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै १-० को संघर्षपूर्ण जित निकालेपछि मात्र फ्रान्स क्वार्टरफाइनल पुगेको हो।

कस्तो छ मोरक्को?
यता, मोरक्कोको क्वाटरफाइनल यात्रा यसपाला पनि लोभलाग्दो छ। समूह चरणमा स्कटल्यान्ड र हाइटीलाई हराएको मोरक्कोले ब्राजिलसँग बराबरी खेल्दै नकआउट चरणमा स्थान बनाएको थियो।
राउन्ड अफ ३२ मा विश्वकपकै दाबेदार नेदरल्यान्ड्सविरुद्ध पेनाल्टी सुटआउटमा विजयी बनेको मोरक्कोले आफ्नो स्तर प्रमाणित गर्यो। अन्तिम १६ मा त घरेलु टोली क्यानडालाई ३-० ले हराउँदै पुनः विश्वकपको अन्तिम आठमा स्थान सुरक्षित गर्यो। अब, उसको अघि फेरि फ्रान्स आएको छ।
टोलीको अवस्था
फ्रान्सका भरपर्दा मिडफिल्डर ओरेलिएँ चुआमेनी पाराग्वेविरुद्धको अन्तिम १६ को खेल गुमाए पनि क्वार्टरफाइनलसम्म पूर्ण रूपमा फिट हुने अपेक्षा गरिएको छ। उनी टोलीमा फर्किए मानु कोनेले सुरुआती रोजाइ गुमाउने सम्भावना छ। प्रशिक्षकले प्रतियोगिताभर ४-२-३-१ को रणनीति अपनाउँदै आएका छन्।
मोरक्कोतर्फ भने इस्माइल साइबारीको स्वास्थ्य अवस्था सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ। क्यानडाविरुद्धको खेलमा चोट बोकेका साइबारीले यस विश्वकपमा पाँच खेल खेल्दै तीन गोल गरेका छन्। उनी मैदान उत्रन नसक्ने प्रशिक्षकले बताइसक्दा सुफियान रहिमीले पहिलो रोजाइमा अवसर पाउने सम्भावना छ। प्रशिक्षक मोहम्मद उआहबीले अन्य स्थानमा कुनै ठूलो परिवर्तन नगर्ने संकेत दिएका छन्।

नजर रहने खेलाडी
फ्रान्सका कप्तान किलियन एम्बाप्पे यस विश्वकपमा सात गोल र दुई गोलका अवसर सिर्जना (असिस्ट) गर्दै उत्कृष्ट लयमा छन्। विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीहरूको सूचीमा उनी १७ गोलसहित दोस्रो स्थानमा छन्। उनीसँगै एसिस्टमा प्रभावशाली देखिएका माइकल ओलिसे महत्वपूर्ण बन्न सक्छन्।
मोरक्कोका लागि भने ब्राहिम डियाज सबैभन्दा महत्वपूर्ण खेलाडी मानिएका छन्। उनले यस विश्वकपमा चार गोल असिस्ट गर्दै विश्वकप इतिहासमा यो उपलब्धि हासिल गर्ने पहिलो अफ्रिकी खेलाडीको कीर्तिमान बनाएका छन्। क्रिएटिभ मिडफिल्डर डियाज र एम्बाप्पे क्लब फुटबलमा एउटै टोलीका सहकर्मी भएपनि यसपटक दुवै आ-आफ्नो राष्ट्रलाई सेमिफाइनल पुर्याउने लक्ष्यसहित एकअर्काविरुद्ध मैदानमा उत्रनेछन्। यसबाहेक डिफेन्डर तथा कप्तान अचरफ हकिमी, सुफियान रहिमी महत्वपूर्ण बन्न सक्छन्।
फ्रान्स लगातार दोस्रो विश्वकप फाइनल पुग्ने यात्रालाई कायम राख्ने लक्ष्यमा छ भने मोरक्को फेरि इतिहास रच्दै दोस्रो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउने योजनामा छ। त्यसैले यी दुई टोलीबीचको प्रतिस्पर्धा विश्वकप २०२६ को सबैभन्दा रोमाञ्चक क्वार्टरफाइनलमध्ये एक मानिएको छ।
को बलियो?
यी दुई टोली उत्तिकै सन्तुलित टोली छन्। ओप्टा सुपर कम्प्युटरको विश्लेषणलाई मान्ने हो भने फ्रान्स जित्ने सम्भावना ६१.७ प्रतिशत छ भने मोरक्कोले जित्ने सम्भावना १६.२ प्रतिशत छ। खेल अतिरिक्त समयमा जाने सम्भावना २२ प्रतिशत छ।











