काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बुधबार देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।
बुधबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा, मधेश प्रदेश साथै कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशको पहाडी भूभागका एक/दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना छ।
मधेश प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा हुरीबतासको पनि सम्भावना छ।
त्यसैगरी, बुधबार राति देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
मधेश प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना महाशाखाले जनाएको छ।
कोशी प्रदेशको पहाडी र तराई भू-भागको थोरै स्थान तथा मधेश प्रदेशका साथै बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागको एक/दुई स्थानमा मुसलधारे वर्षाका सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहनुहुन अनुरोध महाशाखाले अनुरोध गरेको छ।











