काटमाडौं। जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरण पूर्व गृहमन्त्री बालकृष्ण खाँणलगायतलाई दोषी ठहर गरेको छ। झण्डै तीन वर्षपछि अदालतले मुद्दामा अन्तिम फैसला दिएको हो। अधिकांश प्रतिवादी दोषी ठहर भएका छन्।
दोषी ठहर भएका प्रतिवादीको सजाय निर्धारण असार २९ गते हुने जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले बताए।
प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेय पनि दोषी ठहर भएका छन्। जिल्ला अदालतले मंगलबार फैसला गरेको हो।
पूर्व उपप्रधानमन्त्री रायमाझीलाई राज्यविरुद्धको कसुर र संगठित अपराधमा समेत अदालतले दोषी ठहरेको छ। पूर्वमन्त्री खाँणलाई भने राज्यविरुद्धको कसुरमा मतियारका रुपमा दोषी ठहर अदालतले गरेको छ।
को के मा दोषी ठहर?
सरकारी कीर्तेमा दोषी ठहर
केशव प्रसाद दुलाल, सानु भण्डारी र टेकनाथ रिजाल
राज्यविरुद्धको कसुर र एकीकृत कसुर
केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजीत राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझी। प्रतिवादीहरु बालकृष्ण खाँण, टेकनाथ रिजाल, नरेन्द्र केसी., शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेलले राज्यविरुद्धको कसुरमा मतियारमा दोषी ठहर।
ठगी र संगठित अपराध
केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजीत राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोप बहादुर रायमाझी। साथै प्रतिवादीहरु टेकनाथ रिजाल, नरेन्द्र केसी., शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल संगठित ठगीको कसुरमा मतियारमा दोषी ठहर ।
सफाइ पाउनेहरु
प्रतिवादीहरु रामशरण केसी., टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशीष बुढाथोकीलाई अभियोगबाट सफाइ।
के थियो प्रकरण?
२०८० जेठ १० गते पक्राउ परेका १६ जना र अन्य १४ प्रतिवादी बनाएर अन्सन्धान फाइल बुझाइएको छ। जिल्ला अदालत काठमाडौंमा जेठ २७ गतेदेखि लगातार न्यायाधीश तेजबहादुर खड्काको इजलासमा सुनुवाइ भएको थियो।
प्रहरीले संगठित अपराध, ठगी, राज्य विरुद्धको अपराध कसुरमा कारबाही गर्ने सुझाव दिएको थियो। तर, सरकारी वकिल कार्यालयले सरकार कागजत किर्ते र एकीकृत कसुर वापत डेढी सजायको माग समेत राखेर मुद्दामा लगेको थियो। ३० जना विरुद्ध २८ करोड ८१ लाख बिगो माग दाबी सहित मुद्दा दर्ता भएको थियो।
२०७९ चैत १२ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्चरे घर भएका केशवप्रसाद दुलाल र ललितपुरमा बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङलाई पक्राउ गरेको थियो। चैत १५ गते मोरङ पथरी घर भएका ४४ वर्षीय सागर राई पक्राउ परेका थिए। दाङ घर भएका ३३ वर्षीय सन्देश शर्मा चैत २९ गते पक्राउ परेका थिए। २० दिनपछि प्रहरीले थप एक जनालाई पक्राउ गरेको थियो।
त्यसपछि यो प्रकरण एकाएक सतहमा आयो। २०८० बैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ परे। त्यसको भोलिपल्ट बैशाख २० गते सरकारका सचिव टेकनारायण पाण्डे पनि समातिए। उपराष्ट्रपति कार्यालयमा कार्यरत तत्कालीन सचिव पाण्डे पक्राउ परेपछि ठूलै तरङ्ग ल्यायो। त्यही दिन एमाले सचिव एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र उनको छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
वैशाख २० गते साँझ बुटवलबाट टोपबहादुरका छोरा समातिए। छोरा समातिएको खबर पाएका रायमाझी भने फरार रहे। वैशाख २६ गते काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पनि समातिए।
शरणार्थी प्रकरणमा पूरकसमेत गरी तीन मुद्दा अदालतमा दर्ता भएका थिए।











