काठमाडौं। माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले शुक्रबार बाँडफाँट गरेको हो।
कम्पनीको सेयर १ लाख ४२ हजार ७६० जनाले १० कित्ताका दरले हात पारेका छन्। माउन्ट एभरेष्ट पावरले १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको १४ लाख २७ हजार ६०० कित्ता निष्कासन गरेकामा २८ लाख ६२ हजार ९०९ जनाले ३ कराेड ६ लाख ५५ हजार ४३० कित्ता सेयरका लागि आवेदन दिएका थिए।
बिक्री प्रबन्धकका अनुसार कुल आवेदनमध्ये २८ लाख १५ हजार ६७९ स्वीकृत भएका थिए। आइपीओमा मागभन्दा उच्च आवेदन परेकाले अधिकांशको हात रित्तो भएको छ। लगानीकर्ताले मेरो सेयर र सीडीएससीको वेबसाइटबाट आइपीओको नतिजा हेर्न सक्नेछन्।
माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको थियो।
आइपीओ निष्कासनका लागि कम्पनीले गराएको रेटिङमा केयर रेटिङ नेपालले केयर एनपीडबलबी प्लस दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको जनाउँछ।
कम्पनीले सोलुखुम्बुमा १२ मेगावाटको दुधकुण्ड खोला जलविद्युत् आयोजना संचालन गरेको छ। आयोजना २ अर्ब ३६ करोड ९३ लाख रुपैयाँ लागतको हो।










