नयाँ सरकार आएयता तीन महिनामा ३१८ अंक घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ५ खर्ब



बिजमाण्डू
२०८३ असार १५ गते १५:२९ | Jun 29, 2026
नयाँ सरकार आएयता तीन महिनामा ३१८ अंक घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ५ खर्ब

काठमाडौं। सेयर बजार लगातार ६ दिन ओरालो लागेको छ। नेप्से परिसूचक सोमबार १६.५४ अंक घटेर २६३२.९६ विन्दुमा आएको छ।

Tata
GBIME
Nepal Life

कारोबारमा आएका सबै उपसमूहको सूचक घटेको छ। निर्जीवन बीमा कम्पनीको सूचक सबैभन्दा धेरै १.३९ प्रतिशतले ओरालो लागेको छ।

बजारमा २४० कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन्। स्वाभिमान लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ५.८३ प्रतिशतले घटेको छ।

बजारमा सूचकसँगै कारोबार रकम निरन्तर घटिरहेको छ। गत शुक्रबार ३ अर्ब ९४ करोड रुपैयाँको सेयर किनबेच भएकामा सोमबार अझ घटेर २ अर्ब ६७ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ। सूचक लगातार ओरालो लागेर ४ महिनाअघिको विन्दुमा पुगेको छ।

नेप्से परिसूचक यसअघि फागुन ११ गते २६१६ अंकमा थियो। फागुन २१ गतेको निर्वाचनपछि चैत दोस्रो सातासम्म लगातार उकालो लागेर सूचक २९६० अंक पुगेकामा त्यसयता निरन्तर घटिरहेको हो। बजार घट्दा लगानीकर्ताले करिब ५ खर्ब रुपैयाँ गुमाएका छन्।

रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा सरकार बन्नुअघि चैत १२ गते सेयर बजार २९५० विन्दुमा रहेकामा त्यसयता तीन महिनामा ३१८ अंक घटेको हो। त्यतिबेला सेयर बजार पुँजीकरण ५० खर्ब ९ अर्ब रुपैयाँ थियो। अहिले ४५ खर्ब ३४ अर्ब रुपैयाँमा आएको छ।

सरकारसँग लगानीकर्ताहरु त्रसित हुँदाको प्रभाव बजारमा देखिएको हो। निर्वाचनपछि स्थिर सरकारको अपेक्षामा लगानीकर्ता उत्साहित हुँदा दैनिक कारोबार २३ अर्ब ५९ करोड रुपैयाँसम्म पुगेको थियो। अहिले घटेर तीन अर्बभन्दा कम भएको छ।