नेदरल्याण्ड्स बन्यो समूह विजेता, बराबरीमा रोकिएका जापान र स्वीडेन पनि नकआउटमा



बिजमाण्डू
२०८३ असार १२ गते ०६:५९ | Jun 26, 2026
नेदरल्याण्ड्स बन्यो समूह विजेता, बराबरीमा रोकिएका जापान र स्वीडेन पनि नकआउटमा
जापानी खेलाडी। Photo: FIFA

काठमाडौं। नेदरल्याण्ड्स र जापान समूह एफबाट विजेता र उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन्। आज सम्पन्न समूहको अन्तिम खेलमा नेदरल्याण्ड्सले ट्युनिसियालाई ३-१ गोलले हराउँदै ७ अंक बनाउँदा स्वीडेनसँग १-१ गोलको बराबरीमा रोकिएको जापान उपविजेता बन्दै नकआउटमा पुगेको हो। त्यस्तै तेस्रो स्थानमा रहेका उत्कृष्ट टोलीमा पर्दै स्वीडेनको पनि नकआउट यात्रा पक्का भएको छ।

Tata
GBIME
Nepal Life

तालिकामा नेदरल्याण्ड्सले ७, जापानले ५ तथा स्वीडेनले ४ अंक बनाए। ट्युनिसिया भने सबै खेलमा पराजित हुँदै बाहिरियो।

नेदरल्याण्ड्सको प्रभावशाली जित

कान्सास सिटी स्टेडियममा शुक्रबार बिहान भएको खेलमा नेदरल्यान्ड्सले सुरुआतदेखि नै आक्रामक प्रदर्शन गर्दै तेस्रो मिनेटमै अग्रता बनायो। डेन्जेल डुम्फ्रिसको लो-क्रसलाई रोक्ने प्रयासमा ट्युनिसियाका कप्तान एलियेस स्किहिरीले आफ्नै पोस्टमा बल छिराउँदा नेदरल्यान्ड्सले १-० को अग्रता लिएको थियो।

सातौं मिनेटमा भर्जिल भान डाइकले टिजानी रेइन्डर्सको फ्रिकिकलाई हेडमार्फत पछाडि फर्काइदिएपछि ब्रायन ब्रोबेले नजिकैबाट गोल गर्दै अग्रता दोब्बर बनाए।

पहिलो हाफमा ट्युनिसियाले केही अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेन। पहिलो हाफ २-० गोलले पछि परेको ट्युनिसियाले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गर्‍यो।

५४औं मिनेटमा हानिबल मेजब्रीको कर्नरमा हाजेम मास्तौरीले उत्कृष्ट हेडर गोल गर्दै अन्तर २-१ मा झारे। यो गोलपछि केही समय ट्युनिसियाले दबाब बनाए पनि नेदरल्यान्ड्सले त्यसलाई लामो समय टिक्न दिएन।

६२औं मिनेटमा रेइन्डर्सकै कर्नरमा जान पाउल भान हेक्केको हेडर अनिस बेन स्लिमानेमा हल्का डिफ्लेक्ट हुँदै जाली चुमेपछि नेदरल्यान्ड्सले ३-१ को सुरक्षित अग्रता बनायो। बाँकी समयमा थप गोल नभएपछि यही नतिजा अन्तिम बन्यो।

समूहको अर्को खेलमा जापान र स्वीडेन १-१ गोलको बराबरीमा रोकिएपछि नेदरल्यान्ड्स सात अंकसहित समूह विजेता बन्यो। जापान पाँच अंकमा दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुग्यो।

यस जितसँगै रोनाल्ड कोम्यानको टोलीले अन्तिम ३२ मा मोरक्कोसँग भेट पक्का गरेको छ। लगातार तेस्रो हार बेहोरेको ट्युनिसिया भने समूह चरणबाटै बाहिरिएको छ।

जापान र स्वीडेनको बराबरी

अर्को खेलमा जापान र स्विडेनबीचको खेल १-१ को बराबरीमा सकिँदा दुवै टोलीले २०२६ फिफा विश्वकपको नकआउट चरणमा स्थान बनाएका छन्। डलास स्टेडियममा शुक्रबार बिहान सम्पन्न समूह ‘एफ’ को अन्तिम खेलपछि जापान समूह उपविजेता बनेको छ भने स्विडेन उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एकका रूपमा अन्तिम ३२ मा पुगेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा जापानले अग्रता बनाएको थियो। ५६औं मिनेटमा रित्सु दोआनको उत्कृष्ट थ्रु पासमा डाइजेन माएडाले सहज फिनिस गर्दै जापानलाई १-० को अग्रता दिलाए।

तर, त्यो अग्रता लामो समय टिकेन। ६२औं मिनेटमा भिक्टर ग्योकेरेसको पासमा एन्थोनी एलाङ्गाले बायाँ खुट्टाबाट प्रहार गरेको बल जापानी गोलरक्षक जियोन सुजुकीलाई झुक्याउँदै जालीमा पुगेपछि स्विडेनले खेल १-१ को बराबरीमा ल्यायो।

त्यसपछि दुवै टोलीले विजयी गोलको प्रयास गरे पनि गोलरक्षकहरूको उत्कृष्ट प्रदर्शनका कारण थप गोल हुन सकेन। अन्तिम समयमा सुजुकीले अलेक्जेन्डर इसाकका दुई खतरनाक प्रहार बचाउँदै जापानलाई हारबाट जोगाए।

अब जापानले अन्तिम ३२ मा बलियो टोली ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ।