गाउँ-गाउँसम्म पुग्यो रास्वपाभित्रको असन्तुष्टि, रवि र बालेनसँग बढ्यो आक्रोश



प्रकाश भण्डारी
२०८३ असार ११ गते २१:३१ | Jun 25, 2026
गाउँ-गाउँसम्म पुग्यो रास्वपाभित्रको असन्तुष्टि, रवि र बालेनसँग बढ्यो आक्रोश

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को असार ७ मा सुरु भएको महाधिवेशनका लागि गाउँ-गाउँदेखि प्रतिनिधि तथा कार्यकर्ता चितवन पुगे। उद्घाटन सत्रमा कार्यकर्ता तथा प्रतिनिधि यति धेरै उत्साहित थिए कि रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहको आलोचनामा एक शब्द पनि सुन्न चाहेनन्।

Tata
GBIME
Nepal Life

नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले रास्वपा र सरकारलाई प्रश्न गर्दा विरोधमा हुटिङ नै गरे। उद्घाटनको दिन लामिछाने र शाहको कार्यकर्तामाझ क्रेज यस्तो देखिएको थियो कि- उनीहरूका हरेक गतिविधिमा कार्यकर्ताले समर्थन जनाइरहेका थिए भने भाषणका बेला समर्थनमा ताली बजाए। मुसलधारे पानीमा पनि बालेन र रविको भाषण सुन्न नेता/कार्यकर्ताले धैर्य देखाएका थिए। पानी भरिएको चौरमा भिज्दै कार्यकर्ताले उद्घाटन सत्र अवधिभर साथ दिए।

तर, पार्टीभित्रको भद्रगोल तथा गुट उपगुटको टकराबका कारण महाधिवेशनको ५ दिनपछि प्रतिनिधि तथा कार्यकर्ता रास्वपासँग निराश बन्न थालेका छन्। ‘महाधिवेशनलाई व्यवस्थित गरेर नीति तथा नेतृत्व चयन गर्न नसक्ने पार्टीले कसरी देशलाई राम्रोसँग चलाउँछ?’ प्रतिनिधिहरूले रास्वपाका शीर्ष नेताहरूलाई आक्रोशित हुँदै प्रश्न गर्न थालेका छन्। 

७, ८ र ९ गतेसम्मका लागि तोकिएको महाधिवेशनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न नसक्दा १० गते राति भएको केन्द्रीय समितिको निर्वाचनमा १००० हाराहारी प्रतिनिधिले मतदान नै गरेनन्। केही प्रतिनिधि १० गते साँझ नै घर फर्किए भने केही बिहानै गाउँ फर्किएका थिए। केही प्रतिनिधि भने ११ गते रातिका लागि तोकिएको पदाधिकारीको निर्वाचन नपर्खी घर हिँडेका छन्। गाउँ फर्किनेहरूले रास्वापले पार्टी र देश सञ्चालन गर्न नसक्ने आक्रोश व्यक्त गरेका थिए। 

प्रतिनिधि चयन, समावेशीताका आधारमा क्लस्टर अनुसारको प्रतिनिधित्व, आकांक्षी व्यवस्थापन लगायतमा रास्वपाका शीर्ष नेताहरू चुकेका हुन्। ‘अब रास्वपाले देश कसरी चलाउँछ? नयाँ पार्टी हो धेरै कुरा सिक्दै छ भनेर मानौंला तर यो हिसाबको भद्रगोल सहन सकिने खालको छैन,’ महाधिवेशन प्रतिनिधि अमितलाल शाहले भने।

महाधिवेशन भद्रगोल भएपछि ३ हजार ८४९ प्रतिनिधि मध्ये २ हजार ९५९ ले मात्रै मतदानमा भाग लिए। १७० जना विदेशमा रहेका रास्वपाका प्रतिनिधिहरूलाई पनि मोबाइल एप्लिकेशनमार्फत मतदानको अधिकार दिइएको थियो। विदेशबाट भएको मतदानप्रति प्रदेश सभापतिहरूले चित्त बुझाएका छैनन् भने मतदानको विश्वसनीयताप्रति महाधिवेशन प्रतिनिधिहरूले प्रश्न गरेका छन्। रास्वपाका केही प्रतिनिधि लामिछानेले ८ पदाधिकारी र ५१ जना केन्द्रीय सदस्य आफैंले मनोनयन गर्ने विधानको व्यवस्थाप्रति पनि आक्रोशित छन्।

१५८ जनाको केन्द्रीय समिति रहेको रास्वपाका ९९ जनाका लागि मात्रै चुनाव भएको हो। विधानमा बालेन्द्र शाहका लागि वरिष्ठ नेताको पदको व्यवस्था गरिएको छ भने लामिछानेलाई सर्वसम्मत सभापति बनाइएको छ। ११ जना पदाधिकारी लामिछानेले आफ्नै तजबिजमा छान्न पाउनेछन्।

‘परिवर्तन नै अप्ठेरोमा पर्छ कि’

महाधिवेशनमा प्रतिनिधिहरूले शीर्ष नेताहरूको गलत प्रवृतिविरुद्ध पटक-पटक नाराबाजी गरेका थिए। महाधिवेशनको हलमै मन्त्री तथा सांसदहरूले भोट माग्न थालेपछि बिहीबार बिहान जेनजी आन्दोलनबाट रास्वपाका प्रवेश गरेर हाल प्रतिनिधि बनेका मुकेश मेहेताले रास्वपा एमाले र कांग्रेसजस्तै हो भनेर प्रश्न गर्न सुरु गरेका थिए।

उनले रास्वपाका नेता मनिष झा तथा अर्थमन्त्री स्वर्णिम वाग्ले लगायतलाई गेट प्रवेशकै बेलामा पार्टीभित्रको स्वेच्छाचारिता रोक्नुपर्ने भनेपछि केही समय माहोल तनावग्रस्त बनेको थियो। हलभित्र मन्त्री र सांसदहरूलाई भोट नमाग्न तथा निर्वाचनको आचारसंहिता माग्न झाले माइकिङ गरेका थिए। ‘हाम्रो बलिदानले यो पार्टी ठूलो भएको हो। हामीले ल्याएको परिवर्तन यसै खेर पो जाने हो कि। यो पार्टी पनि यस्तै त रहेछ,’ मेहेताले भने।

असन्तुष्टि व्यक्त गर्ने नेता/कार्यकर्ताले पार्टीको महाधिवेशनको मात्रै गरेका छैनन्। उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पनि गरिरहेका छन्। मन्त्रीहरूलाई पार्टी र सरकार दुवैमा पद चाहिने र पद बिना राजनीतिक गर्न नसक्ने भन्दै प्रतिनिधिहरूले सरकारकै आलोचना गरिरहेका छन्।

केन्द्रीय सदस्यका लागि मतदान गरेर फर्किएको प्रतिनिधि पनि आक्रोशित बनेका थिए भने केहीले पदाधिकारी चुनाव बहिष्कार गर्ने चेतावनी दिए।

‘अनिवार्य ६२ जनालाई हाल्नुपर्ने बनाइयो। यो प्रि प्लानअनुसार बनाइएको जस्तो छ। यो असभ्य नै भयो हामीलाई कत्ति पनि चित्त बुझेको छैन। हामी दोस्रो चरणको मतदानमा भोट हाल्दैनौं। हामी ५ दिनदेखि यहाँ छौं। कोही पनि खुसी छैन। रास्वपाका यस्तो किन भयो नहुनुपर्ने हो। हामी त संस्थापक पनि हौं। चार वर्षदेखि दुःख गरिरहेका छौं,’ महाधिवेशन प्रतिनिधि देवेन्द्रराज पाण्डेले भने।

डेनमार्कबाट रास्वपा महाधिवेशनमा भाग लिन आएका एक महाधिवेशन प्रतिनिधिले रास्वपाप्रतिको भ्रम टुटेको भन्दै आक्रोश व्यक्त गरे। ‘नयाँले केही गर्ला भन्ने आशा हो। यो महाधिवेशन हेर्दा मेरो त भ्रम सकियो अब। यो महाधिवेशन मन परेन। पार्टी नेतृत्वको शैली ठिक रहेनछ। जनताले त विश्वास र भरोसा गरेका हुन् नि। विदेशमा बस्ने हामी नेपालीले चुनावमा यो पार्टीको पक्षमा लहर नै चलाएको हो। तर आज हेर्दा कतै गलत गरियो कि भन्ने लागिरहेको छ,’ उनले भने।

केही महाधिवेशन प्रतिनिधिले रास्वपाभित्र चलखेल भइरहेको आरोप लगाएका  छन्। ‘म नै ठूलो म भन्दा केही छैन भन्ने रहेछ। यस्तो कुरा म बाट स्वीकार्य हुन्न। यहाँ चलखेल भएको भन्ने सुनेका छौं। म आफैं पनि उम्मेदवारीबाट ब्याक हटेको छु। तीन वर्ष म सडकमा बिताएको मानिस हो। यहाँ गुटै-गुटका कुरा छन्,’ महाधिवेशन प्रतिनिधि सुनिल केसीले भने। 

महाधिवेशन व्यवस्थित गर्न नसकेपछि लामिछानेमाथि नै केही महाधिवेशन प्रतिनिधिहरूले प्रश्न उठाएका छन्। चुनावबाट सबैभन्दा ठूलो पार्टी बने पनि लामिछाने लगायतका नेताहरूको शैली बदलिन नसकेको भन्दै आक्रोश व्यक्त गर्दै नाराबाजी गरेका थिए। ‘४ हजार प्रतिनिधि व्यवस्थापन गर्न नसक्ने यो पार्टीले ३ करोड नेपालीको व्यवस्थापन कसरी गर्छ? सब कुरा डिजिटल हुन्छ भनेको होइन? खै के छ यहाँ डिजिटल हामीले यसै गरी कति दिन पार्टी चलाउने हो। नेताहरू सच्चिनुपर्छ भनेर हामीले यहाँ आवाज उठाएका हौं,’ महाधिवेशनमा भएको भद्रगोलप्रति आक्रोशित हुँदै एक महाधिवेशन प्रतिनिधिले भने।

गुटको टकराबले निराश प्रतिनिधि

रास्वपा महाधिवेशनमा मुख्य गरी रवि र शाहको समूहबिच आन्तरिक रूपमा मनमुटाब देखिएको छ। केन्द्रीय सदस्य र पदाधिकारीका शाहको समूहले अडान नछोड्दा लामिछाने पक्ष सशंकित छ। निर्वाचित र मनोनीत गरिने केन्द्रीय सदस्य र पदाधिकारीमा आफ्नो समूहको पनि उपस्थिति बलियो हुनुपर्ने शाह पक्षको माग छ। मनोनीत तर्फबाट महामन्त्री महाधिवेशनको हलबाटै हुनुपर्ने माग शाह पक्षले गरिरहेको छ। लामिछाने आकांक्षी व्यवस्थापनलाई महाधिवेशनभन्दा पछि पनि गर्न सकिने भन्दै  आश्वस्त पार्ने प्रयासमा छन्।

‘उहाँहरू महामन्त्री र मनोनीत केन्द्रीय सदस्य पनि अहिले नै हुनुपर्छ भनेर सभापतिलाई दबाब दिनुहुन्छ। यसले अप्ठेरो भइरहेको छ। समग्रमा हाम्रो महाधिवेशन एक हिसाबले अप्ठेरोमा पर्‍यो,’ लामिछाने निकट एक नेताले भने।

प्रतिनिधिहरूलाई दुवै समूहले केन्द्रीय समितिको निर्वाचन सुरु हुनुभन्दा केही समय अघि ह्वाट्सएपमार्फत जिताउनुपर्ने नेताहरूको सूची बाँडेका थिए। चिट बाँडेको सार्वजनिक हुन थालेपछि प्रतिनिधि पनि आक्रोशित बनेका थिए।

‘हामीले ल्याएको परिवर्तन यस्तै एमाले कांग्रेसको जस्तो चिट बाँड्नका लागि थियो? अब उहाँहरूले भन्नुपर्छ,’ महाधिवेशन प्रतिनिधि दीपक खनालले भने।