काठमाडौं। स्नो रिभर कम्पनीको आइपीओ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। स्टक एक्सचेन्ज र कम्पनीबीच बिहीबार सूचीकरण सम्झौता भएको हो।
नेप्सेमा कम्पनीको कुल ९३ लाख ७५ हजार कित्ता सेयर थपिएको छ। सूचीकृत सेयर मध्ये २० प्रतिशतले हुन आउने १८ लाख ७५ हजार कित्ता आइपीओ हो भने बाँकी संस्थापक सेयर हो।
स्नो रिभरको सेयर शुक्रबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ। नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि १०० देखि ३०० रुपैयाँसम्म ओपनिङ रेन्ज दिएको छ।
कम्पनीले जेठ दोस्रो साता सर्वसाधारणलाई सेयर निष्कासन गरेको थियो। कम्पनीले ताप्लेजुङमा जलविद्युत आयोजना निर्माण गरेको छ। आइपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ ‘डबल बी प्लस’ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
स्नो रिभर्सले सञ्चालन गरेको १३.५ मेगावाटको सुपर काबेली खोला ‘ए’ जलविद्युत् आयोजनाको कुल लागत २ अर्ब ७१ करोड ९० लाख ८५ हजार रुपैयाँ छ।
आर्थिक वर्ष २०८२/८३ को पुससम्म कम्पनीको प्रति सेयर आम्दानी ४.९८ रुपैयाँ र प्रति सेयर नेटवर्थ १०७.४६ रुपैयाँ छ। यस्तै, सञ्चित मुनाफा ५ करोड ५९ लाख रुपैयाँ रहेको कम्पनीले विवरण पत्रमा उल्लेख गरेको छ।











