काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८७ लाखको बजेट सार्वजनिक गरेको छ।
जुन चालु आर्थिक वर्षको भन्दा करिब १ करोड रुपैयाँले मात्रै बढी हो। चालु आर्थिक वर्षका लागि ललितपुरले ७ अर्ब ४७ करोड ४१ लाखको बजेट ल्याएको थियो।
महानगरपालिकाकी उपमेयर मञ्जली शाक्यले बुधबार प्रस्तुत गरेको बजेटमा चालु खर्चका लागि ३ अर्ब २५ करोड १८ लाख विनियोजन गरिएको छ।
त्यस्तै, पुँजीगत शीर्षकमा ४ अर्ब २३ करोड ६९ लाख छुट्याइएको छ। विनियोजितमध्ये चालुतर्फ यो आर्थिक वर्षको भन्दा ९ प्रतिशतले बढी र पुँजीगततर्फ ६ प्रतिशतले कम रहेको उपप्रमुख शाक्यले बताइन्।
तलबभत्तामा भएको वृद्धिले गर्दा आगामी आर्थिक वर्षमा चालु खर्चको भार बढेको उनको भनाइ छ। ललितपुरको बजेटले गुणस्तरीय पूर्वाधार र सेवा प्रवाहलाई प्राथमिकता दिएको उपप्रमुख शाक्यले बताएकी छन्।










