काठमाडौं। क्रोएसियाले पानामालाई हराएको छ। फिफा विश्वकप २०२६ को समूह ‘एल’अन्तर्गत टोरोन्टो स्टेडियममा बुधबार भएको खेलमा क्रोएसियाले दोस्रो हाफमा गरेको एकमात्र गोल पानामालाई हराउन निर्णायक बन्यो।
योसँगै क्रोएसियाले अन्तिम ३२ मा पुग्ने आशा जीवित राख्दा पानामा लगातार दोस्रो खेलमा पनि पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको हो। यही समूहमा आजै इङ्ग्ल्याण्ड र घानाले गोलरहित बराबरी खेलेका थिए।
पहिलो खेलमा इङ्ग्ल्याण्डसँग ४-२ गोलले हारेको क्रोएसियाले दोस्रो खेलमा जित निकाल्दा राहत पाएको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोलीले स्पष्ट अवसर सिर्जना गर्न संघर्ष गरेका थिए। पानामाले केही राम्रो आक्रमण बुने पनि क्रोएसियाली गोलरक्षक डोमिनिक लिभाकोभिच उत्कृष्ट लयमा देखिए।
खेलको ५४औँ मिनेटमा जोसिप स्तानिसिचको दायाँ विङबाट आएको क्रसलाई एन्टे बुडिमिरले पोस्ट नजिकबाट जाली चुमाउँदै क्रोएसियालाई अग्रता दिलाए। दोस्रो हाफ सुरु हुनासाथ मैदान प्रवेश गरेका बुडिमिरले टोलीका लागि महत्त्वपूर्ण गोल गरे।
गोलपछि क्रोएसियाले अग्रता दोब्बर बनाउने अवसर पनि पाएको थियो। ५७औँ मिनेटमा मारियो पासालिच एक्लै गोलकिपरतर्फ अघि बढे पनि पानामाका गोलरक्षक ओरलान्डो मोस्केराले उत्कृष्ट बचाउ गरे। रिबाउन्डमा प्राप्त अवसर पनि पासालिचले खेर फाले।
इन्जुरी समयमा पानामाले फ्रिकिकबाट खेलमा फर्कने अन्तिम मौका पाए पनि त्यसको सदुपयोग गर्न सकेन। त्यसपछि क्रोएसियाले अग्रता जोगाउँदै महत्त्वपूर्ण ३ अंक सुरक्षित गर्यो।
जितसँगै क्रोएसिया समूह ‘एल’मा तीन अंकसहित तेस्रो स्थानमा उक्लिएको छ। समूहमा इङ्ग्ल्याण्ड र घाना समान ४ अंक बनाउँदै क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। पानामा भने लगातार दोस्रो हारसँगै अंकविहीन भएर तालिकाको पुछारमा छ।










