सेनेगलविरुद्धको जितमा हाल्याण्डको दोहोरो गोल, विश्वकपको नकआउटमा पुग्यो नर्वे



बिजमाण्डू
२०८३ असार ९ गते १०:५५ | Jun 23, 2026
सेनेगलविरुद्धको जितमा हाल्याण्डको दोहोरो गोल, विश्वकपको नकआउटमा पुग्यो नर्वे
नर्वेका स्ट्राइकर हाल्याण्ड। Photo: AP/RSS

काठमाडौं। सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकपको नकआउट चरणमा पुगेको छ। न्युयोर्क न्युजर्सी स्टेडियममा आज भएको रोमाञ्चक खेलमा स्ट्राइकर अर्लिङ हालान्डको दोहोरो गोलको सहायतामा नर्वेले सेनेगललाई ३–२ गोलअन्तरले हराएको हो। योसँगै नर्वेले २०२६ विश्वकपको अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ।

Tata
GBIME
Nepal Life

समूह ‘आई’ अन्तर्गत सोमबार राति भएको खेलमा नर्वेले अधिकांश समय खेलमाथि नियन्त्रण जमाएको थियो। अन्तिम समयमा सेनेगलले दबाब बढाए पनि बराबरी गोल निकाल्न सकेन।

खेलको सुरुवातदेखि नै नर्वेले आक्रामक शैली अपनाएको थियो। पहिलो चार मिनेटमै चारवटा कर्नर पाएको नर्वेले सुरुवाती दबाब बनाए पनि सेनेगलका गोलरक्षक एडुआर्ड मेन्डीले उत्कृष्ट बचाउ गर्दै टोलीलाई जोगाएका थिए।

पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा नर्वेले अग्रता लियो। कप्तान मार्टिन ओडेगार्डको थ्रु पास नियन्त्रण गर्न सेनेगलका कप्तान कालिडु कुलिबाली चुकेपछि मार्कस होल्मग्रेन पेडर्सेनले अवसरको सदुपयोग गर्दै गोल गरे। उनको प्रहार मेन्डीको हातबाट फुत्किँदा नर्वेले अग्रता लियो।

दोस्रो हाफ सुरु भएको तीन मिनेटमै नर्वेले अग्रता दोब्बर बनायो। सेनेगलको आक्रमण विफल बनाएपछि ओडेगार्डले तीव्र गतिमा काउन्टर आक्रमण अघि बढाए। उनले मिलाएको पासमा हालान्डले लड्दै गरेको अवस्थामा पनि शक्तिशाली प्रहार गर्दै गोल गर्दै नर्वेको अग्रता दोब्बर बनाए।

यसपछि अझ डटेर खेलेको सेनेगलले ५३औँ मिनेटमा गोल फर्कायो। साडियो मानेको उत्कृष्ट पासमा इस्माइला सारले गोल गर्दै टोलीलाई खेलमा फर्काए।

सेनेगलले बराबरीको प्रयास गरिरहेकै बेला हालान्ड फेरि चम्किए। ५८औँ मिनेटमा पेनाल्टी क्षेत्रभित्र पुगेको बललाई हालान्डले सहज भलीमार्फत गोलमा परिणत गरे।

इन्जुरी समयको तेस्रो मिनेटमा सेनेगलले अर्को गोल फर्कायो। निकोलस ज्याक्सनले बक्सभित्रबाट दिएको पहिलो टच पासलाई इस्माइला सारले नजिकैबाट जाली चुमाउँदै व्यक्तिगत दोस्रो गोल गरे र खेल ३-२ मा झारिदिए।

तर, दुबै टोलीले गोल थप्न नसक्दा नर्वेले कठिन जित सुरक्षित गर्‍यो।

यो जितसँगै नर्वे दुई खेलबाट ६ अंक जोड्दै अन्तिम ३२ मा प्रवेश गरेको छ। अब उसले चार दिनपछि बोस्टन स्टेडियममा फ्रान्ससँग समूह विजेताको टुंगो लगाउने खेल खेल्नेछ।