नेपालको सेयर बजारलाई सामान्यतया सूचकांक, कारोबार रकम, बजार पुँजीकरण, ब्याजदर, लाभांश, प्रति सेयर आम्दानी, मूल्य आम्दानी र नीतिगत संकेतका आधारमा बुझने गरिन्छ। तर गहिरो दृष्टिले हेर्दा नेप्से केवल सेयर किनबेच हुने वित्तीय मञ्च होइन। यो नेपाली समाजको आशा, डर, लोभ, विश्वास, असुरक्षा, राज्यप्रतिको भरोसा, रेमिट्यान्सबाट बनेको पुँजी, मध्यमवर्गीय उन्नतिको सपना र आधुनिक आर्थिक नागरिक निर्माणको प्रयोगशाला हो।
बजारमा देखिने मूल्य कम्पनीको वर्तमान नाफाको गणित मात्र होइन, त्यो भविष्यप्रतिको सामूहिक कल्पना पनि हो। त्यसैले कहिलेकाहीँ कमजोर आधार भएको कम्पनी पनि कथन, हल्ला र समूह मनोविज्ञानको बलमा अत्यधिक उचालिन्छ। फेरि कहिलेकाहीँ बलियो कम्पनी पनि तरलता अभाव, डर, नीति अनिश्चितता व सामूहिक बिक्री दबाबका कारण वास्तविक मूल्यभन्दा तल झर्छ।
यस दृष्टिले हेर्दा नेप्सेको वास्तविक चरित्र स्पष्ट हुन्छ। यो न पूर्ण रुपमा विवेकशील बजार हो, न पूर्ण रुपमा अविवेकी जुवाघर। यो एउटा अनुकूलशील बजार हो। यहाँ लगानीकर्ता सिक्छन्, बिर्सन्छन्, फेरि गल्ती गर्छन्, नीति बदलिन्छ, प्रविधि बदलिन्छ, तरलता बदलिन्छ र बजारको सामूहिक व्यवहार पनि निरन्तर बदलिन्छ। यही कारण नेप्सेलाई स्थिर दक्ष बजार सिद्धान्तबाट मात्र बुझ्न सकिँदैन। अनुकूलशील बजार सिद्धान्त नेप्सेलाई बुझ्न बढी उपयुक्त दार्शनिक, आर्थिक र मनोवैज्ञानिक ढाँचा हो।
दक्ष बजार सिद्धान्तले सबै सूचना तुरन्तै मूल्यमा समाहित हुन्छ भन्छ, तर नेपाली बजारमा सूचना मूल्यमा जान्छ, तर शुद्ध रुपमा होइन । सूचना सामाजिक हल्ला, विश्वास, समूह व्यवहार, तरलता, राजनीतिक संकेत, नियामक निकायको विश्वासनीयता र लगानीकर्ताको डर लोभ चक्रबाट विकृत भएर मूल्यमा पुग्छ। त्यसैले नेप्सेमा मूल्य केवल सूचना होइन, सूचना, भावना, शक्ति, समय, प्रविधि र सामाजिक नक्कलको संयुक्त परिणाम हो।
अनुकूलनशील बजार सिद्धान्त : बजारलाई मेसिन होइन, जीवित प्रणालीका रुपमा हेर्नुपर्छ
नेप्सेको अध्ययनले एउटा गहिरो सिद्धान्त पुष्टि गर्छ – ‘बजार स्थिर वस्तु होइन, जीवित प्रणाली हो।’ जीवित प्रणालीले जस्तै बजारले पनि वातावरणसँग अनुकूलन गर्छ। जब सूचना कम हुन्छ, संस्थागत क्षमता कमजोर हुन्छ, तरलता पातलो हुन्छ र लगानीकर्ता मुख्यतः खुद्रा प्रकृतिका हुन्छन्, बजार अक्षम हुन्छ। जब डिजिटल प्रविधि बढ्छ, कारोबार र राफसाफ प्रणाली सुधारिन्छ, सूचना पहुँच विस्तार हुन्छ, नियामकीय निगरानी बलियो हुन्छ र लगानीकर्ताको सिकाइ बढ्छ, बजार क्रमशः दक्षतातर्फ सर्छ।
तर यो यात्रा सीधा रेखामा अघि बढ्दैन। कहिले दक्षता बढ्छ, कहिले घट्छ। कहिले प्रत्यक्ष अनुमानयोग्यता घट्छ, तर गहिरो तहको अस्थिरता बाँकी रहन्छ। कहिले सूचना छिटो फैलिन्छ, तर भावना अझ छिटो फैलिन्छ। यही नेप्सेको वास्तविकता हो।
यसको दार्शनिक अर्थ गहिरो छ। बजारमा सत्य स्थिर हुँदैन, सत्य परिस्थितिजन्य हुन्छ। एउटै लगानी रणनीति सबै समयमा काम गर्दैन। एउटै नीति सबै बजार अवस्थामा प्रभावकारी हुँदैन। एउटै लगानीकर्ताको व्यवहार सबै चक्रमा विवेकशील हुँदैन। बजार विवेकशीलता कुनै जन्मजात गुण होइन, यो संस्थागत सिकाइ, पारदर्शिता, अनुशासन र अनुभवको परिणाम हो। जब संस्था, सूचना, प्रविधि र अनुशासन परिपक्व हुन्छन्, बजार विवेकशील देखिन थाल्छ। जब ती कमजोर हुन्छन्, बजार भीडको मनोविज्ञानमा फर्किन्छ।
त्यसैले नेप्सेको मूल प्रश्न ‘बजार दक्ष छ कि छैन?’ मात्र होइन। वास्तविक प्रश्न हो – कुन अवस्थामा, कुन अवधिमा, कुन प्रकारको सूचना र कुन प्रकारका लगानीकर्ताबीच बजार कति दक्ष छ?

नेप्सेको विकास : हातेकागज बजारदेखि डिजिटल भीडसम्म
नेप्सेको विकासलाई तीन चरणमा बुझ्न सकिन्छ। पहिलो चरण हातेकागजी वा सीमित कारोबारको समय थियो। त्यसबेला बजार पहुँच कम थियो। सूचना सीमित समूहमा रहन्थ्यो। कारोबार तुलनात्मक रुपमा न्यून थियो। बजार केही शहरी, पहुँच भएका, संस्थागत वा दलाल सञ्जाल नजिकका व्यक्तिहरुको क्षेत्र थियो। यहाँ भीड मनोविज्ञान कम थियो, तर सूचना असमानता बढी थियो।
दोस्रो चरण अर्थ डिजिटल विस्तारको समय थियो। पर्दामार्फत कारोबार, अभौतिक सेयर प्रणाली, सञ्चारमाध्यमको पहुँच, प्राथमिक सेयर संस्कार, बैंक तथा बीमा क्षेत्रको विस्तार, जलविद्युत् कथानक र पुँजी बजार चेतना बढ्न थाले। यही समयमा नेप्से सीमित वित्तिय क्षेत्रबाट सामान्य नागरिकको आर्थिक सपनाको क्षेत्र बन्न थाल्यो।
तेस्रो चरण डिजिटल बजारको समय हो। अनलाइन कारोबार, टीएमएस, मेरो सेयर, मोबाइल पहुँच, सामाजिक सञ्जाल, फेसबुक, भाइबर, टेलिग्राम समूह, युट्युब विश्लेषक, दैनिक बजार टिप्पणी र प्रत्यक्ष मूल्य अवलोकनले बजारलाई विशाल सामूहिक मनोविज्ञानिक क्षेत्र बनाइदियो। अब बजारमा पहुँच लोकतान्त्रिक भयो, तर यहीसँगै अविवेक पनि लोकतान्त्रिक भयो। हजारौं लगानीकर्ता एकै समयमा एउटै हल्ला, एउटै चार्ट, एउटै कथा, एउटै डर र एउटै लोभबाट प्रभावित हुन थाले।
डिजिटल प्रविधिले सूचना छिटो बनायो, तर ज्ञान स्वतः बढाएन। कारोबार पहुँच बढ्यो, तर जोखिम बुझने क्षमता समान रुपमा बढेन। यही कारण डिजिटल चरणमा सहभागिता बढे पनि अस्थिरता घटेन, बरु केही अवस्थामा छिटो भावनात्मक प्रतिक्रिया बढ्यो।
यो आधुनिक नेपालको ठूलो विरोधाभास हो। प्रविधिले बजार खोल्यो, तर परिपक्वता निर्माण गर्न समय लाग्छ। डिजिटल संरचना एक रातमा आउन सक्छ, तर वित्तीय सभ्यता पुस्तौंमा बन्छ।
अस्थिरता : बजारको स्मृति र समाजको बेचैनी
नेप्सेमा अस्थिरताको समूहगत प्रवृत्ति देखिन्छ। यसको अर्थ बजारमा आएको एक दिनको धक्का अर्को दिनमै हराउँदैन। उच्च अस्थिरता आएपछि केही समय उच्च अस्थिरता रहन्छ। कम अस्थिरता आएपछि केही समय बजार शान्त देखिन्छ। बजारको आफ्नै स्मृति हुन्छ। यो स्मृति केवल तथ्यांकीय स्मृति होइन, यो सामाजिक स्मृति पनि हो।
जब बजार घट्छ, मानिसहरुले केवल मूल्य घटेको देख्दैनन्। उनीहरुले आफनो बचत, ऋण, परिवारको अपेक्षा, सामाजिक प्रतिष्ठा, भविष्य योजना र विगतको पछुतो सम्झन्छन्। जब बजार बढ्छ, मानिसहरुको केवल सूचाकांक बढेको देख्दैनन्। उनीहरुले आर्थिक उन्नति, छिटो धनि बन्ने सम्भावना, छुटेको अवसर, छिमेकीको नाफा र आफनो अघिल्लो गल्ती सम्झन्छन्।
यसैले अस्थिर वित्तीय घटना मात्र होइन, भावनात्मक घटना पनि हो। नेप्सेमा अस्थिर लामो समय टिक्नुको अर्थ नेपाली लगानीकर्ताको सामूहिक मन तुरुन्त स्थिर हुँदैन। धक्का बजारबाट घरसम्म पुग्छ। घरबाट सामाजिक कुराकानीमा जान्छ। त्यहाँबाट फेरि कारोबार निर्णयमा फर्किन्छ। यसरी बजार र समाज एकअर्कालाई लगातार प्रतिक्रिया दिइरहन्छन्।
बजारमा अस्थिरता बढ्दा तीन तहमा असर पर्छ।
पहिलो, घरपरिवारको वित्तीय अवस्थामा असर पर्छ। सेयरमा लगानी गरेको परिवारको कागजी सम्पत्ति घटबढ हुन्छ। यसले खर्च, ऋण, विवाह, शिक्षा, घरजग्गा, व्यापार र वैदेशिक रोजगारसम्बन्धी निर्णयसम्म प्रभाव पार्न सक्छ।
दोस्रो, वित्तीय प्रणालीमा असर पर्छ। सेयर धितो कर्जा, मार्जिन दबाब, धितो मूल्यांकन, बैंकको तरलता प्राथमिकता र लगानीकर्ताको विश्वास प्रभावित हुन्छ।
तेस्रो, राजनीतिक अर्थतन्त्रमा असर पर्छ। बजार धेरै घट्दा सरकार र निमायक निकायमाथि दबाब आउँछ। बजार बढ्दा नीति निर्माताले त्यसलाई आर्थिक विश्वासको संकेत मान्न सक्छन्। यसरी नेप्सेको आर्थिक सूचक मात्र होइन, राजनीतिक दबाब उत्पादन गर्ने संस्था पनि बन्छ।

बजारमा शान्त र उथलपुथलका दुई अवस्था
नेप्सेलाई एउटै व्यवहार भएको बजार मान्नु गलत हुन्छ। यो कम्तीमा दुई मनस्थितिमा बाँच्दछ – शान्त र उथलपुथलको अवस्था।
शान्त अवस्थामा लगानीकर्ता तुलनात्मक रुपमा विचारशील हुन्छन्। कम्पनीको वित्तीय विवरण, लाभांश इतिहास, क्षेत्रगत सम्भावना, ब्याजदर, नीति संकेत, मूल्यांकन र दीर्घकालीन सम्भावना हेर्ने सम्भावना बढी हुन्छ। मूल्य खोज प्रक्रिया तुलनात्मक रुपमा व्यवस्थित हुन्छ। यस्तो बजारमा तर्कको भूमिका बढी हुन्छ।
उथलपुथल अवस्थामा बजारको मस्तिष्क बदलिन्छ। लगानीकर्ताको निर्णय विवेकपूर्ण विश्लेषणबाट होइन, बाँच्ने मनोविज्ञानबाट आउन थाल्छ। नोक्सानीप्रतिको अत्यधिक संवेदनशीलता, आतंक, अवसर छुट्ने डर, पछुतोबाट बच्ने प्रवृत्ति, हल्लामा निर्भरता, भीड व्यवहार र आफनो धारणा पुष्टि गर्ने सूचनामात्र खोज्ने प्रवृत्ति अत्यधिक सक्रिय हुन्छन्। यस्तो समयमा मानिसले ‘मूल्य उचित छ कि छैन?’ भन्दा पहिले ‘अरुले के गर्दैछन्?’ हेर्छन्। त्यसैले उथलपुथल अवस्थामा बजार एउटा भीड प्राणी जस्तो बन्छ।
उच्च अस्थिरताको अवस्था छोटो टिके पनि तीव्र हुन्छ। केही दिनमै ठूलो सम्पत्ति स्थानान्तरण हुन सक्छ। अनुशासित लगानीकर्ताले अवसर देख्छन्, अनुशासनहीन लगानीकर्ताले संकट भोग्छन्। यही बिन्दुमा बजार सम्पत्ति निर्माण र सम्पत्ति विनाश दुवैको स्थल बन्छ।

नेप्सेमा सकारात्मक र नकारात्मक धक्का दुवै किन खतरनाक ?
विकसित बजारमा धेरैपटक नकारात्मक समाचारले सकारात्मकभन्दा बढी अस्थिरता पैदा गर्छ। तर नेप्सेमा सकारात्मक र नकारात्मक दुवै धक्काले समान प्रकृतिको अस्थिर पैदा गर्न सक्छन्। यो खुद्रा लगानीकर्ताले भरिएको बजारको मनोविज्ञानसँग मेल खान्छ।
सकारात्मक संकेत आउँदा अवसर छुट्ने डर सक्रिय हुन्छ। ‘अब बजार छुट्छ,’ ‘आज नकिने भोलि महँगो हुन्छ,’ ‘यो क्षेत्र चल्यो,’ ‘ठूलो खेलाडी लागेको छ,’ ‘नीति आउँदैछ’ जस्ता कथाले खरिद दबाब बनाउँछ। नकारात्मक संकेत आउँदा आतंक सक्रिय हुन्छ। ‘अब बजार सकियो,’ ‘ऋणको दबाब आउँछ,’ ‘सबै बेचिरहेका छन्,’ ‘अझै घट्छ’ भन्ने डरले बिक्री दबाब बनाउँछ।
यसको अर्थ नेप्सेमा अस्थिर केवल डरबाट जन्मिँदैन, लोभबाट पनि जन्मन्छ। लोभ र डर दुवै बजारका समान शक्तिशाली इन्धन हुन्।
आर्थिक मनोविज्ञान : लगानीकर्ता गणक यन्त्र होइन, सामाजिक प्राणी हो
परम्परागत वित्तशास्त्रले लगानीकर्तालाई जोखिम र प्रतिफलको गणना गर्ने विवेकशील व्यक्ति मान्छ। तर वास्तविक नेपाली लगानीकर्ता सामाजिक प्राणी हो। उसले प्रति सेयर आम्दानी हेर्छ, तर साथीसँग पनि सोध्छ। जसले चार्ट हेर्छ, तर सामाजिक सञ्जाल समूह पनि हेर्छ। उसले लाभांश हेर्छ, तर ‘यो सेयर चल्छ’ भन्ने कथा पनि सुन्छ। उसले जोखिम बुझ्न खोज्छ, तर छिमेकीले कमाएको कथाले उसलाई बढी असर गर्छ।
नेप्सेमा देखिने प्रमुख व्यवहारगत पूर्वाग्रह यस्ता छन् ।
समूह अनुकरणः अरुले किनिरहेको देखेर आफूले पनि किन्ने । यो विशेषगरी कम कारोबार हुने, कम सेयर आपूर्ति भएको र क्षेत्रगत हल्ला चलेको बजारमा शक्तिशाली हुन्छ ।
- अवसर छुट्ने डर : बजार बढ्दा नकिने पछुतो हुन्छ भन्ने डर। उकालो बजारमा यसले मूल्यांकन अनुशासन नष्ट गर्छ।
- नोक्सानी अस्वीकार : नोक्सान भएको सेयर बेच्न नसक्ने, तर थोरै नाफा भएको सेयर छिटै बेच्ने। यसले दीर्घकालीन लगानी संरचना कमजोर बनाउँछ।
- पुष्टिकरण पूर्वाग्रह : आफूले किनेको कम्पनीबारे राम्रो कुरा मात्र खोज्ने र नकारात्मक सूचना बेवास्ता गर्ने।
- हालसालैको प्रवृत्ति भ्रम : पछिल्लो केही दिनको चाललाई भविष्यको स्थायी दिशा मान्ने।
- कथानकको लत : तथ्यभन्दा कथा बलियो बन्ने। ‘यो कम्पनी भविष्यमा धेरै ठूलो हुन्छ,’ ‘यो क्षेत्र अब चल्छ,’ ‘सरकारले नीति ल्याउँदैछ’ जस्ता कथाले वास्तविक मूल्यांकनभन्दा बढी प्रभाव पार्न सक्छन्।
- अति आत्मविश्वास : उकालो बजारमा नाफा भएपछि आफूलाई बजार विशेषज्ञ ठान्ने। तर धेरैपटक त्यो सीप होइन, तरलता चक्रको परिणाम हुन्छ।
यी कमजोरी व्यक्तिगत मात्र होइनन्, बजार संरचनाले पनि तिनलाई बलियो बनाउँछ। कमजोर खुलासा प्रणाली, ढिलो सूचना, सामाजिक सञ्जालको हल्ला कमजोर स्वतन्त्र विश्लेषण संस्कृति, सीमित संस्थागत गहिराइ र नियामकप्रतिको मिश्रित विश्वासले लगानीकर्ताको मनोविज्ञानलाई अझ अस्थिर बनाउँछ।

नेप्सेको समाजशास्त्र : नयाँ मध्यमवर्गको सपना, असुरक्षा र नक्कल
नेप्से अब केवल वित्तीय संस्था होइन, यो नेपाली मध्यमवर्गको सामाजिक कल्पना हो। सरकारी कर्मचारी, शिक्षक, साना व्यवसायी, वैदेशिक रोजगारीमा रहेका परिवार, विद्यार्थी, युवा, गृहिणी, बैंककर्मी र सहकारीसँग जोडिएका मानिसहरुले पुँजी बजारलाई आर्थिक गतिशीलताको बाटोका रुपमा हेर्न थालेका छन्।
यो लोकतान्त्रिकरण सकारात्मक हो। यसले पुँजी बजारलाई सीमित वर्गको क्षेत्रबाट जनस्तरमा ल्याएको छ। तर यसले नयाँ सामाजिक जोखिम पनि बनाएको छ। पहिलो जोखिम वित्तीय साक्षारताको कमी हो। धेरै मानिस बजारमा प्रवेश गर्छन्, तर जोखिम, विविधीकरण, मूल्यांकन, ऋण, तरलता, बजार चक्र र कर प्रणाली राम्रोसँग बुझदैनन्।
दोस्रो जोखिम सामाजिक तुलना हो। ‘फलानोले सेयरबाट घर किन्यो,’ ‘उसले प्राथमिक सेयरबाट कमायो,’ ‘उसले उकालो बजारमा लाखौं बनायो’ भन्ने कथा समाजमा तीव्र रुपमा फैलिन्छ। यसले मानिसलाई आफनो आम्दानी र बचत क्षमताभन्दा बढी जोखिम लिन प्रेरित गर्न सक्छ।
तेस्रो जोखिम सूचना असमानता हो। बजार खुला भए पनि सूचना समान हुँदैन। जससँग समय, तथ्यांक, सञ्जाल, अनुशासन र पुँजी छ, उसले अस्थिरताबाट लाभ लिन सक्छ। जससँग यी छैनन्, ऊ भीडको पछिल्लो पंक्तिमा पर्छ।
यस अर्थमा नेप्से सामाजिक गतिशीलताको अवसर पनि हो र असमानता पुनरुत्पादन गर्ने स्थल पनि हो।
रेमिट्यान्स, तरलता र सम्पत्ति मूल्य पुँजीवाद
नेपालको अर्थतन्त्र रेमिट्यान्समा अत्यधिक निर्भर छ। रेमिट्यान्सले घरपरिवारको आय, बैंक निक्षेप, तरलता, उपभोग र सम्पत्ति मागमा ठूलो भूमिका खेल्छ। जब बैंकिङ प्रणालीमा तरलता बढ्छ, ब्याजदर घट्ने अपेक्षा आउँछ, मुद्दती निक्षेपको आकर्षण घट्छ, र पैसा सेयर बजारतर्फ जान सक्छ। त्यसपछि बजार बढ्छ। बजार बढेपछि विश्वास बढ्छ। विश्वासले थप पैसा तान्छ। यसरी चक्र आफैं विस्तार हुन्छ।
तर यस्तो वृद्धि सधैं उत्पादनशील अर्थतन्त्रको वृद्धि होइन। सेयर मूल्य बढ्नुको अर्थ उद्योग, नवप्रवर्तन, रोजगारी, उत्पादकत्व र निर्यात बढेको छ भन्ने होइन। कहिलेकाहीँ यो तरलताबाट प्रेरित सम्पत्ति मूल्यवृद्धि मात्र हुन सक्छ।
नेपालको समस्या यहीँ छ, वास्तविक उत्पादनशील अर्थतन्त्र कमजोर रहँँदा वित्तीय सम्पत्तिमा अत्यधिक आशावादिता जम्मा हुन सक्छ। उत्पादनशील क्षेत्रले पर्याप्त रोजगारी र प्रतिफल दिन नसक्दा मध्यमवर्गले सेयर, जग्गा, सुन वा वैदेशिक रोजगारीलाई आर्थिक सुरक्षाको माध्यम बनाउँछ। यसरी नेप्से पुँजी परिचालन गर्ने साधन मात्र होइन, कमजोर उत्पादनशील पुँजीवादले सिर्जना गरेको खाली ठाउँ भरिरहेको अनुमानात्मक आशाको संयन्त्र पनि हो।
राजनीतिक अर्थतन्त्र : बजार, राज्य र भरोसाको त्रिकोण
कुनै पनि पुँजी बजार विश्वासमा बाँच्छ। विश्वास तीन ठाउँबाट आउँछ, कम्पनीको सुशासन, नियामक क्षमता र समष्टिगत आर्थिक नीतिको स्थिरता। यी तीनमध्ये कुनै एक कमजोर भयो भने बजारमा अनिश्चितता बढ्छ।
नेपालमा राजनीतिक अस्थिरता, नीति परिवर्तनको अनिश्चितता, मौद्रिक नीतिका आकस्मिक संकेत, सेयर धितो कर्जासम्बन्धी नियम, नियामक निकायको कार्यान्वयन क्षमता, भित्री सूचनाको आशंका, प्रवर्धकको व्यवहार, सम्बन्धित पक्ष कारोबार र ढिलो खुलासाले बजार मनोविज्ञानमा गहिरो प्रभाव पार्छ।
राजनीतिक अर्थतन्त्रको दृष्टिले नेप्सेमा राज्य केवल बाहिरी निर्णायक होइन, राज्य स्वयं बजार अपेक्षाको निर्माता हो। नेपाल राष्ट्र बैंकको ब्याजदरसम्बन्धी धारणा, धितोपत्र बोर्डको निगरानी, सरकारको वित्त नीति, कर व्यवस्था, जलविद्युत् अनुमति, बीमा नियमन र बैंकिङ नियमन सबैले लगानीकर्ताको मनोविज्ञान बनाउँछन्।
जब राज्य स्पष्ट, पारदर्शी र पूर्वानुमेय हुन्छ, बजारमा जोखिम घट्छ। जब राज्य अस्पष्ट, प्रतिक्रियात्मक र अस्थिर हुन्छ, बजार हल्लाप्रधान हुन्छ। यसैले नेप्सेको सुधार केवल कारोबार प्रणाली सुधारेर हुँदैन, राज्य क्षमता, नियामकीय वैधता र नियममा आधारित शासन पनि चाहिन्छ।

डिजिटल विरोधाभास : छिटो सूचना, छिटो भ्रम
डिजिटल कारोबारले नेप्सेलाई ऐतिहासिक रुपमा बदलेको छ। अनलाइन आदेश, अभौतिक सेयर, टाढाबाट कारोबार पहुँच, राफसाफ सुधार र व्यापक सहभागिता महत्त्वपूर्ण उपलब्धि हुन्। तर डिजिटल प्रविधिको अर्को पक्ष पनि छ – हल्ला डिजिटल हुन्छ, आतंक डिजिटल हुन्छ र लोभ पनि डिजिटल नै हुन्छ।
पहिले सूचना ढिलो फैलिन्थ्यो, त्यसैले भीडको सामूहिक प्रतिक्रिया कम थियो। अहिले एउटै सामाजिक सञ्जाल पोस्ट, एउटै युट्युब भिडियो, एउटै टेलिग्राम सन्देश वा एउटै दलाल हल्लाले हजारौँ लगानीकर्ताको निर्णय एकै समयमा प्रभावित गर्न सक्छ। यसले तरलता धक्का र मूल्य चाल दुवैलाई तीव्र बनाउँछ।
डिजिटल प्रविधिले सूचना दक्षता सुधार्न सक्छ, तर व्यवहारगत अनुशासन स्वतः बनाउँदैन। प्रविधिले पहुँच दिन्छ, बुद्धिमत्ता शिक्षा, अनुभव र संस्थाबाट आउँछ। यही कारण डिजिटल नेप्सेमा दक्षताको संकेत देखिए पनि अस्थिरता र व्यवहारगत जटिलता अझै बाँकी रहनु स्वाभाविक हो।
सूक्ष्म तहको प्रक्रिया : मूल्य कसरी बन्छ, कसरी बिग्रिन्छ?
बजारको सूक्ष्म तहमा मूल्य निर्माण अत्यन्तै संवेदनशील प्रक्रिया हो । कुनै कम्पनी वा क्षेत्रबारे सकारात्मक हल्ला सुरु हुन्छ। केही जानकार वा प्रारम्भिक खरिदकर्ता प्रवेश गर्छन्। मूल्य थोरै बढ्छ। पर्दामा हरियो संकेत देखिन्छ। अरुले गति देख्छन्। सामाजिक सञ्जालमा चर्चा बढ्छ। माग बढ्छ, तर बिक्री गर्नेहरु कम हुन्छन्। बोलकबोल माथि जान्छ। सर्किट लाग्ने सम्भावना कुनै कथा बन्छ। नयाँ खुद्रा पैसा प्रवेश गर्छ। यसले मूल्य अझ बढाउँछ। त्यसपछि मूल्यांकनभन्दा मनोविज्ञान बलियो बन्छ।
फेरि कुनै नकारात्मक संकेत आउँछ। प्रारम्भिक खरिदकर्ता बाहिरिन्छन्। नयाँ खरिदकर्ता फस्छन्। मूल्य घट्छ। नोक्सान रोक्ने अनुशासन नभएका मानिस औसत घटाउन थप किन्छन्। आतंक बढ्छ। सामाजिक सञ्जालको कथा बदलिन्छ। ‘यो कम्पनी त फसाउने रहेछ’ भन्ने धारणा फैलिन्छ। यसरी बजार केही दिनमै उत्साहबाट निराशातर्फ जान सक्छ।
यस प्रक्रियामा चार शक्ति काम गर्छन् – तरलता असन्तुलन, सूचना शृंखला, भावनात्मक संक्रमण र संस्थागत कमजोरी। नेप्सेको अस्थिरता यिनै सूक्ष्म प्रक्रियाहरुको समष्टिगत परिणाम हो।
बजारको नैतिक प्रश्न – पुँजी निर्माण कि मनोवैज्ञानिक उत्खनन?
पुँजी बजारको मूल उद्देश्य पुँजीलाई उत्पादनशील क्षेत्रमा लैजानु हो। राम्रो कम्पनीले पुँजी उठाउने, लगानी गर्ने, रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने, नवप्रवर्तन गर्ने र लगानीकर्तालाई प्रतिफल दिने। तर जब बजार अत्यधिक अनुमानात्मक हुन्छ, पुँजी परिचालनको मूल उद्देश्य बिग्रिन्छ।
यदि बजारको मुख्य ऊर्जा हल्ला, चलखेल, भीड कारोबार, छोटो अवधिको उल्टापाल्टा र कृत्रिम अभावमा केन्द्रित भयो भने त्यो उत्पादनशील पुँजीबादभन्दा मनोवैज्ञानिक उत्खनन बन्छ। जानकार र शक्तिशाली समूहले अनजान खुद्रा लगानीकर्ताको मनोविज्ञानबाट लाभ लिने अवस्था बन्न सक्छ।
त्यसैले नेप्सेको प्रश्न केवल ‘सूचाकांक कति पुग्छ?’ होइन, वास्तविक प्रश्न हो – यो बजारले नेपालको उत्पादनशील अर्थतन्त्रलाई पुँजी दिइरहेको छ कि केवल भीड मनोविज्ञानबाट सम्पत्ति स्थानान्तरण गरिरहेको छ?
यदि बजारलाई दीर्घकालीन विकासको औजार बनाउने हो कम्पनी सुशासन, समयमै खुलासा, स्वतन्त्र विश्लेषण संस्कृति, संस्थागत लगानीकर्ताको गहिराइ, सामूहिक लगानी कोषको परिपक्वता, निवृत्तिभरण कोषको सहभागिता, बजार निर्माण संयन्त्र र लगानीकर्ता संरक्षण अत्यन्तै छन्।
नीति मार्ग : अस्थिर, मनोविज्ञान र संस्थालाई बुझ्ने नियमन
पुँजी बजार परिपक्व बनाउन नियमन केवल नियमको सूची हुनुहुँदैन। नियमनले बजारको मनोविज्ञान पनि बुझ्नुपर्छ। पहिलो, उच्च अस्थिरताको अवस्थामा निगरानी तीव्र बनाउनुपर्छ। असामान्य आदेश समूह, घुमाउरो कारोबार, समन्वित खरिद, क्षेत्रगत बुलाबुला, सामाजिक सञ्जालमार्फत चलखेल र दलालस्तरको केन्द्रित कारोबारलाई वास्तविक समयमा अनुगमन गर्नुपर्छ।
दोस्रो, सर्किट ब्रेकरलाई केवल यान्त्रिक रोकावटको रुपमा होइन, अस्थिरताको गहिराइ र अवधि हेरेर समायोजित गर्नुपर्छ। यदि धक्का लामो समय टिक्छ भने नियमनले बजार शान्त पार्ने, कम्पनीबाट स्पष्टिकरण माग्ने र तरलता व्यवस्थापनसँग जोडिनुपर्छ।
तेस्रो, वित्तीय साक्षरतालाई वैकल्पिक अभियान होइन, बजार संरचनाकै भाग बनाउनुपर्छ। कारोबार खाता खोल्नुअघि जोखिम शिक्षा, ऋण जोखिम, विविधीकरण, व्यवहारगत पूर्वाग्रह, नोक्सान रोक्ने अनुशासन र ठगी सचेतना अनिवार्य हुनुपर्छ। चौथो, खुलासा प्रणाली सरल, समयमै उपलब्ध र तथ्यांकमैत्री हुनुपर्छ। लगानीकर्ताले कम्पनीको सूचना बुझ्न नसक्ने भाषा र ढिलो सूचना बजार अक्षमताको स्रोत हो।
पाँचौ, नेपाल राष्ट्र बैँक, धितोपत्र बोर्ड, नेप्से र अर्थ मन्त्रालयबीच नीति समन्वय हुनुपर्छ। मौद्रिक नीति, सेयर धितो कर्जा, तरलता, कर, पुँजीगत लाभकर, बीमा नियमन, बैंक जोखिम र पुँजी बजार अलग अलग टापु होइनन्, एउटै वित्तीय पारिस्थितिक प्रणालीका भाग हुन्।
छैटौँ, संस्थागत लगानीकर्ताको भूमिका बढाउनुपर्छ। परिपक्व बजारमा निवृत्तिभरण कोष, सामूहिक लगानी कोष, बीमा कोष र व्यवसायिक सम्पत्ति व्यवस्थापकले अस्थिरता सोस्न मद्दत गर्छन्। नेपालमा खुद्रा प्रभुत्व घटाएर व्यावसायिक पुँजीको हिस्सा बढाउनु आवश्यक छ।

लगानीकर्ताका लागि गहिरो पाठ
नेप्सेबाट सिक्नुपर्ने मुख्य कुरा हो – रणनीति स्थायी हुँदैन, बजार अवस्था स्थायी हुँदैन, बजारको मनोविज्ञान स्थायी हुँदैन।
उकालो बजारमा सबैजना प्रतिभाशाली देखिन्छन्। ओरालो बजारमा सबैजना दार्शनिक बन्छन्। तर दीर्घकालीन लगानीकर्ता यी दुवै भ्रमबाट बच्नुपर्छ। बजारमा प्रवेश गर्नुअघि तीन कुरा स्पष्ट हुनुपर्छ – ‘म के किन्दैछु, किन किन्दैछु र निर्णय गलत भएमा के गर्छु।’
लगानीकर्ताले हल्लाभन्दा मूल्यांकन, उत्साहभन्दा लगानी आकार, भीडभन्दा तरलता, छोटो अवधिको मूल्यभन्दा व्यवसायको गुणस्तर र आतंकभन्दा योजनालाई प्राथमिकता दिनुपर्छ। नेप्से अनुकूलनशील भएकाले पुराना ढाँचा सधैं दोहोरिन्छन् भन्ने मान्नु खतरनाक छ। डिजिटल प्रविधि र नियामकीय सुधारले ऐतिहासिक ढाँचाहरु कमजोर बनाउन सक्छन्। त्यसैले सिकाइ निरन्तर हुनुपर्छ।
नेप्से अधुरो आर्थिक आधुनिकताको ऐना
नेप्सेलाई केवल सेयर बजार भनेर पढ्नु अपूर्ण हुन्छ। यो नेपालको अधुरो आर्थिक आधुनिकताको ऐना हो। यसमा रेमिट्यान्समा टिकेको अर्थतन्त्र छ, कमजोर उत्पादनशील आधार छ, मध्यमवर्गको आकांक्षा छ, राज्यको अनिश्चितता छ, डिजिटल तीव्रता छ, व्यवहारगत कमजोरी छ र संस्थागत परिपक्वताको संघर्ष छ।
यो बजार न पूर्ण रुपमा दक्ष छ, न त पूर्ण रुपमा अक्षम। यो सिकिरहेको छ। कहिले गल्ती गरेर सिक्छ, कहिले संकटबाट सिक्छ, कहिले प्रविधिबाट सिक्छ, कहिले नियमनबाट सिक्छ, कहिले लगानीकर्ताको सामूहिक नोक्सानबाट सिक्छ। यही यसको अनुकूलनशील चरित्र हो।
हाम्रो पुँजी बजारको भविष्य सूचाकांकको उचाइमा होइन, संस्थाको गहिराइमा निर्भर छ। यदि पारदर्शिता, भरोसा, वित्तीय साक्षरता, प्रभावकारी कार्यान्वयन, तरलताको गहिराइ र उत्पादनशील पुँजी निर्माण बलियो भयो भने नेप्से नेपालको विकास यात्राको महत्त्वपूर्ण औजार बन्न सक्छ। यदि बजार केवल हल्ला, भीड, चलखेल र छोटो अवधिको अनुमानमा अडियो भने यो मध्यमवर्गीय सपनाको अस्थिर जुवाघर बन्न सक्छ।
अन्ततः नेप्सेको सबैभन्दा गहिरो अर्थ यही हो – बजार मानव मनको मूल्य सूचक हो। जहाँ समाज अस्थिर हुन्छ, बजार अस्थिर हुन्छ। जहाँ राज्य अस्पष्ट हुन्छ, बजार हल्लाप्रधान हुन्छ। जहाँ शिक्षा कमजोर हुन्छ, भीड बलियो हुन्छ। जहाँ संस्था परिपक्क हुन्छ, मूल्य सत्यको नजिक जान्छ। नेपालको पुँजी बजारको वास्तविक सुधार सूचकांक बढाउनु होइन, समाज, संस्था र लगानीकर्ताको चेतना परिपक्व बनाउनु हो।
(डा. ढकाल अर्थशास्त्रका अनुसन्धानकर्ता तथा लेखक हुन्। उनको अनुसन्धान र लेखन दक्षिण एसियाली अर्थतन्त्र, डिजिटल कृषि, डिजिटल अर्थतन्त्र तथा समसामयिक आर्थिक विषयमा केद्रित छ)









