इनरुवा। सुनसरीको हरिनगर गाउँपालिका-३ गौतमपुरका किसान रामेश्वर मेहताले ५ कट्ठा जग्गामा ड्रागन फ्रुटखेती गरेका छन्। उनले करिब ८ लाख रुपैयाँ लागतमा खेती सुरु गरेका हुन्।
मेहताका अनुसार १ लाख ५६ हजार बिरुवामा मात्रै खर्च भएको छ। बाँकी खर्च पिलर, टायर/होल्डर, कम्पोष्ट मल, सुडामोनस, खाद्य, रोपाइँ तथा ३ पटकसम्मको सिँचाइ, मजदुरको ज्याला लगायतमा खर्च भएको मेहताले जानकारी दिए।
‘खेती सुरु गर्दा आम्दानीभन्दा खर्च बढी थियो। अहिले आम्दानी हुन थालेपछि उत्साहित भएको छु,’ उनले भने।
परम्परागत खेती छाडेर व्यावसायिक रूपमा ड्रागनखेती गरेकामा यस वर्ष ५ कट्ठामा रोपिएका बिरुवाबाट १२ लाख रुपैयाँभन्दा बढी आम्दनी हुने लक्ष्य लिएको मेहताले बताए। सुरुआती लगानी र मेहनतपश्चात् अहिले उनले उत्साहजनक प्रतिफल प्राप्त गरिरहेका छन्।
प्रति कट्ठा करिब १ हजार ४०० किलो ड्रागन फ्रुट उत्पादन हुने लक्ष्य रहेको मेहताले बताए। अन्नबालीमा मात्र सीमित रहने यस क्षेत्रका कृषकका लागि रामेश्वर मेहताको यो व्यावसायिक खेती एउटा अनुकरणीय र प्रेरक उदाहरण बनेको छ।
कम मेहनत र राम्रो बजार भाउ पाउने भएपछि स्थानीयस्तरमा यसको खेतीतर्फ अन्य कृषकको आकर्षण बढ्न थालेको छ। यस खेतीबाट प्रशस्त आम्दनी आउन थालेपछि खेती विस्तार गर्ने तयारी थालेको किसान मेहताले बताए।
जिल्लामा ५० हेक्टर क्षेत्रफलमा ड्रागन फ्रुटखेती हुँदै आएको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख नीलकमल सिंहले जानकारी दिए। उनका अनुसार जिल्लामा १२.५ मेट्रिकटन प्रति हेक्टर ड्रागन फ्रुट उत्पादन हुँदै आएको छ। रासस











