काठमाडौं। सरकारले अध्यादेश प्रतिस्थापनसहित विभिन्न ६ वटा विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको छ।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशलाई प्रतिस्थापन गर्ने चार वटा र अरु दुई विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको हो। बैठकले दुई वटा विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार मन्त्रिपरिषद्ले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी र राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ।
यस्तै अध्यादेश प्रतिस्थापन गर्न सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक, सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।
सार्वजनिक खरिद (दोस्रो संशोधन), सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) सहकारी (पहिलो संशोधन) र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश संसद्का दुवै सदनले शुक्रबार नै स्वीकृत गरेका थिए।
सरकारले गत वैशाख तेस्रो साता ८ वटा अध्यादेश ल्याएको थियो। चार वटा अध्यादेश भने स्वीकृतिका लागि सदनमा पेस गर्न बाँकी छ।
संसद् अधिवेशन बोलाएको ६० दिनभित्र प्रतिस्थापन विधेयक प्रमाणीकरण भइसक्नुपर्नेमा सरकारसँग त्यसका लागि अब तीन साता मात्र बाँकी छ। संसद् अधिवेशन वैशाख २८ गते सुरु भएको थियो।
मन्त्रिपरिषद्ले सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्ने सम्बन्धी र बचत तथा ऋण सहकारी (नियमन तथा सुपरीवेक्षण) सम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिएको छ।









