काठमाडौं । फिफा विश्वकपमा यसपटक अप्रत्यासित नजिताहरु आइरहेका छन्। कमजोर आँकिएका टोलीले बलियो ठानिएका टोलीलाई यात हराइरहेका छन् या बराबरीमा रोकिरहेका छन्।
यस्तो अप्रत्यसित नतिजा दिने एउटा टोली हो केप भर्डे।
युरोपियन च्याम्पियन स्पेनलाई जारी विश्वकपको उपाधिको प्रबल दाबेदार ठानिनुमा फुटबलका विज्ञहरुसँगै अनेक तर्क छ। विश्वकप सुरु नहुँदैबाट स्पेनले जुनसुकै टोलीलाई पनि हराउन सक्ने विश्लेषण रहँदै आएको थियो। युवादेखि अनुभवी खेलाडीको संयोजन रहेको स्पेनलाई कसले रोक्ला? अर्कोथरी विश्लेषकहरुले विश्वकपका अरु टोलीका नाम लिइरहेका थिए।
तर, यी सबै विश्लेषक एउटा कुरामा स्पष्ट थिए। समूह चरणमा त स्पेनले सहजै सबै खेल जित्छ। स्पेनको समूहमा भएका टोलीमा उरुग्वेले चुनौती दिन सक्ने टिप्पणीहरु थिए। तर, कुनै विश्लेषणमा केप भर्डेले स्पेनलाई रोक्ला भनेर कसैको विश्लेषण थिएन। जसरी जर्मनीले अर्को विश्वकपको नवप्रवेशी कुरासाओलाई गोल वर्षा गरेको थियो, स्पेनलाई त्यस्तै खेल केप भर्डे विरुद्ध खेल्ने भन्ने अनुमान थियो।
केप भर्डेले सबै विश्लेषकको विश्लेषणलाई गलत सावित गर्दियो। र, युरोपियन च्याम्पियन र विश्व फुटबलको महारथी स्पेनलाई विश्वकपको डेब्यु खेलमै गोलरहित बराबरीमा रोक्दियो।
यो खेलपछि केप भर्डेको चर्चा सर्वत्र फैलिएको छ। यो टोलीमा पनि सबैभन्दा चर्चित बनेका छन् भोजिन्हा ।
विश्वकप फुटबलमा डेब्यु गरेको केप भर्डेलाई युरोपियन च्याम्पियन स्पेनविरुद्ध ऐतिहासिक बराबरी दिलाउने नायक गोलरक्षक भोजिन्हा खेलपछि भावुक बने। स्पेनसँगको समूह ‘एच’ को खेलमा भोजिन्हाले सात उत्कृष्ट बचाउ गर्दै केप भर्डेलाई ०-० को बराबरीमा रोक्न महत्वपूर्ण भूमिका खेले। उनको शानदार प्रदर्शनकै कारण उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए।
तर, खेल सकिएपछि भने ४० वर्षीय भोजिन्हा आँसु थाम्न सकेनन्। कारण थियो- उनको जीवनकै सबैभन्दा ठूलो क्षण हेर्न उनकी आमा मैदानमा उपस्थित हुन नसक्नु।
भोजिन्हाले संचारकर्मीसँग कुरा गर्दै आफू बाल्यकालमा हजुरबुबा-हजुरआमासँग हुर्किएको र उनीहरू केही वर्षअघि बितिसकेको बताए।
‘म खेलपछि रोएँ, किनभने मलाई हुर्काउने हजुरबुबा र हजुरआमा यहाँ हुनुहुन्न। मेरी आमा पनि भिसा समस्या र त्यसका लागि तिर्नुपर्ने रकमका कारण यहाँ आउन सक्नु भएन। हामीले समयमै सबै प्रक्रिया पूरा गर्न सकेनौं,’ उनले भने।
यस वर्षको सुरुवातमा अमेरिकाले केप भर्डेका नागरिकका लागि सामान्य भिसा शुल्कबाहेक १५ हजार अमेरिकी डलरसम्म फिर्तायोग्य धरौटी राख्ने व्यवस्था लागू गरेको थियो। यही कारण भोजिन्हाकी आमा समयमै अमेरिका पुग्न असमर्थ भएकी थिइन्।
२५ वर्षको उमेरसम्म व्यावसायिक फुटबल नखेलेका भोजिन्हाले विश्वकपमा स्पेनजस्तो शक्तिशाली टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो लामो संघर्षको प्रतिफल पाएको बताए।
‘यो मेरो देशलाई प्रतिनिधित्व गर्ने गर्वको क्षण हो। हामी सानो देश हौँ, तर यहाँसम्म पुग्न निकै संघर्ष गरेका छौँ। आज हाम्रो सपना साकार भएको छ।’ उनले भने।
भोजिन्हाको हलिउडको जस्तो कथा
भोजिन्हाको कथा आफैंमा चलचित्रजस्तै छ। विश्वकपमा स्पेनलाई रोक्दै एकाएक भाइरल बनेका यी गोलरक्षकको वास्तविक नाम जोसिमार जोजे एभोरा डायास हो। तर फुटबल जगतमा उनी ‘भोजिन्हा’ नामले परिचित छन्। उनी केप भर्डेको साओ भिसेन्टे टापुको मिन्डेलो सहरमा जन्मिएका हुन्।
विश्वकप फुटबलमा चाँडो करियर सुरु गरेर चम्किएका खेलाडी भेटिन्छन् तर उनको कथा उल्टो छ। जुन उमेरमा अधिकांश खेलाडीको करियर सकिसकेका हुन्छ, त्यो उमेरमा उनको करियर सुरु भएको छ। यही विश्वकपमा जर्मनीको प्रशिक्षक जुलियन नागेल्समन उनी भन्दा दुई वर्ष कान्छा छन्।
भोजिन्हाले ४० वर्षको उमेरमा पहिलोपटक विश्वकप खेले र विश्वकपमा डेब्यु गर्ने दोस्रो सबैभन्दा पाका खेलाडी बने। स्पेनविरुद्धको खेलमा उनले सात उत्कृष्ट बचाउ गर्दै टोलीलाई ०-० को बराबरी दिलाए र ‘प्लेयर अफ द म्याच’ घोषित भए।
त्यो खेलमा स्पेनले झन्डै ७५ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको थियो र २७ वटा प्रहार गरेको थियो। तर भोजिन्हा बारम्बार स्पेनिस आक्रमणको अगाडि पर्खाल बने। विशेषगरी पेड्री, फेरान टोरेस र आयमेरिक लापोर्तेका प्रहार उनले रोकेर केप भर्डेलाई ऐतिहासिक अंक दिलाए।
हजुरबुबा-हजुरआमासँग हुर्किएका उनले युरोपका चर्चित एकेडेमीमा प्रशिक्षण पाएका होइनन्। सडक र स्थानीय मैदानमै आफैं सिक्दै उनी गोलरक्षक बने।
उनका बुबाले सन् १९८६ को विश्वकपबाट प्रभावित भएर उनलाई ब्राजिलका एक खेलाडीको सम्झनामा ‘भोजिन्हा’ उपनाम दिएका थिए। पछि यही नाम उनको पहिचान बन्यो।
भोजिन्हाले आफ्नो करिअरमा केप भर्डे, अंगोला, मोल्डोभा, पोर्चुगल, साइप्रस र स्लोभाकियाका क्लबबाट खेलेका छन्। हाल उनी पोर्चुगलको दोस्रो डिभिजन क्लब जीडी चाभेसबाट खेल्छन्। सन् २०१२ देखि राष्ट्रिय टोलीबाट खेल्दै आएका उनीसँग ५० भन्दा बढी अन्तर्राष्ट्रिय खेलको अनुभव छ।
स्पेनविरुद्धको खेलअघि सामाजिक संजालमा भोजिन्हाका करिब ५० हजार फलोअर मात्र थिए। तर, ऐतिहासिक प्रदर्शनपछि उनको लोकप्रियता विस्फोटक रूपमा बढ्यो र केही घण्टामै लाखौं नयाँ समर्थक जोडिए। उनी विश्वकप २०२६ का पहिलो ‘भाइरल स्टार’ बनेका छन्। उनको यो समाचार तयार गर्दासम्म ६.५ मिलियन फलोअर्स पुगिसकेका छन्।










