मन्त्रीले सभामुखप्रति सम्मान व्यक्त नगरेको भन्दै एमालेका महरले गरे रुलिङको माग



बिजमाण्डू
२०८३ असार २ गते १५:५१ | Jun 16, 2026
मन्त्रीले सभामुखप्रति सम्मान व्यक्त नगरेको भन्दै एमालेका महरले गरे रुलिङको माग

काठमाडौं। नेकपा एमालेले सरकारका दुई मन्त्रीलाई रुलिङ गर्न सभामुख डीपी आर्यालको ध्यानाकर्षण गराएको छ।

Tata
GBIME
Nepal Life

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले दुई जना मन्त्रीले नियमावलीको व्यवस्था अनुसार सभामुखलाई सम्मान प्रकट नगरेको भन्दै भिडियो हेरेर रुलिङ गर्न ध्यानाकर्षण गराएका हुन्।

‘यो सदनको गरिमा र मर्यादा हामी सबैको जिम्मेवारी र दायित्व हो। तर अघि बैठक सुरु गर्दै गर्दा सभामुखज्यू बैठक कक्षमा आउँदा दुई जना मन्त्रीले उठेर सम्मान प्रकट गर्नुभएन। बसिरहनुभयो। यसले हामीलाई गम्भीर र चिन्तित बनाएको छ,’ महरले भने, ‘त्यसैले भिडियो रेकर्ड चेक गरेर रुलिङ गर्न आग्रह गर्छु।’

संसद् नियमावलीमा सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने व्यवस्था छ।

मंगलबार प्रतिनिधि सभाको बैठक केहीबेर स्थगित भएर फेरि सुरु गर्ने क्रममा बैठक कक्षमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र नवप्रवर्तनमन्त्री महावीर पुन थिए। तर उनीहरुमध्ये कसले सभामुखप्रति सम्मान प्रकट नगरेका हुन् भन्ने चाहिं महरले खुलाएनन्।