सानिगाड हाइड्रोको आइपीओ बाँडफाँट, २२ लाख ९२ हजार आवेदकको हात रित्तो



बिजमाण्डू
२०८३ असार १ गते १२:१६ | Jun 15, 2026
सानिगाड हाइड्रोको आइपीओ बाँडफाँट, २२ लाख ९२ हजार आवेदकको हात रित्तो


काठमाडौं। सानिगाड हाइड्रोको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले सोमबार सेयर बाँडफाँट गरेको हो।

Vigo
GBIME
Tata

कम्पनीको आइपीओमा २७ लाख ५९ हजार ४९० जनाको आवेदन परेकामा ४ लाख ६७ हजार ४०० जना आवेदकले १०/१० कित्ता दरले सेयर पाएका छन्। आइपीओमा मागभन्दा उच्च आवेदन परेकाले २२ लाख ९२ हजार आवेदकको हात रित्तो भएको छ।

लगानीकर्ताले मेरो सेयर र सीडीएससीको वेबसाइटबाट आइपीओको नतिजा हेर्न सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सेयर वितरण गरेपछि हाइड्रोले दोस्रो चरणमा जेठ तेस्रो साता सर्वसाधारणका लागि बिक्री खुलाएको थियो।

कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले इक्रएनपी इस्यूअर रेटिङ ‘डबल बी माइनस’ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

सानिगाडले सञ्चालन गरेको ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत् आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ छ।

गत पुस मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी ८.६५ र प्रति सेयर नेटवर्थ ११३.२२ रुपैयाँ छ। यस अवधिसम्म कम्पनी २६ करोड ३७ लाख रुपैयाँ संचित नाफामा रहेको विवरणपत्रमा उल्लेख छ।

कांग्रेस नेतासमेत रहेका व्यवसायी उमेश श्रेष्ठ कम्पनीका अध्यक्ष हुन्। कम्पनीमा उनको८ लाख ९७ हजार कित्ता सेयर छ।