दीपक भट्टलाई ३७३ करोडको सेयर किनिदिएका ब्रोकरको बयान, ‘पैसा लाने सुभीलाई चिन्दिन’



बिजमाण्डू
२०८३ असार २ गते ०९:२७ | Jun 16, 2026
दीपक भट्टलाई ३७३ करोडको सेयर किनिदिएका ब्रोकरको बयान, ‘पैसा लाने सुभीलाई चिन्दिन’

काठमाडौं। हिमालयन रि-इन्स्योरेन्ससहित ५ वटा सूचीकृत कम्पनीको ३७३ करोड रुपैयाँ प्रयोग गरेर विवादास्पद व्यवसायी दीपक भट्टलगायतको नाममा सेयर खरिद गरेको ब्रोकर कम्पनी भृकुटी ब्रोकरेजका अध्यक्ष सन्दीप चाचान अग्रवालले स्वीकार गरेका छन्।

Tata
GBIME
Nepal Life

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सरकारी वकिल कार्यालयमार्फत विशेष अदालतमा दायर गरेको मुद्दा अनुसार चाचानले दीपक भट्टका लागि सेयर खरिद गरिदिएको स्वीकार गरेका हुन्। आफूविरुद्ध मुद्दा दायर हुनुअघि चाचानले लामो बयान दिएका छन्।

बयान यस्तो छ

कानुनी रुपमा २५ प्रतिशत रकम अग्रिम भुक्तानी प्राप्त नगरी सेयर खरिद गर्न मिल्दैन। मैले विश्वासका आधारमा मेरो कम्पनीले खरिद गरिदिएको हो। यो सेयरको खरिद कार्य मैले निज दीपक भट्टलाई कसुर गर्न गराउन सहजीकरणका लागि गरेको भने होइन। 

बीओआईडी १३०१५०००००२४१६८१ खरिदकर्ता दीपक भट्टको उक्त खाताको टीएमएस (सेयर खरिद बिक्री गर्न ब्रोकरले उपलब्ध गराउने प्लाटफर्म) निज दीपक भट्टले नै चलाउने गरेका छन् मैले चलाउने होइन। मैले दीपक भट्टलाई व्यक्तिगत रुपमा खासै चिन्दिनँ। संस्थागत आधारमा चिनेको छु। 

म उहाँको सेयर कारोबारका क्रममा केवाईसी लिनका लागि ललितपुरस्थित उहाँको निजी निवासमा खाता खोल्ने समयमा गएको थिएँ। उहाँको सेयर कारोबार म अध्यक्ष रहेको ब्रोकिङ कम्पनी दलाल नं. ५५ मार्फत हुने गरेको छ। मेरो कम्पनीले माथि खुलाए अनुसार उहाँबाट रु. २८९२०४८८३९.४५ रकम लेना बाँकी रहेको छ।

कारोवारको भुक्तानीका लागि हिमालयन सेक्युरिटी बैंकर लि., हिमालयन क्यापसर्भ लि., हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड लि., एचएलआई लार्ज क्याप फण्ड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लि, रोहित गुप्ता र शेखर गोल्छा समेतका व्यक्ति तथा संस्थाको खाताबाट रकम भुक्तानी भएको हो। 

भुक्तानीको विवरण भृकुटीले यस विभागलाई पठाइसकेको छ। मैले कारोबारका क्रममा समग्र सेटलमेन्ट (हिसाव मिलान)लाई मात्र ध्यान दिई कारोवार गरेको हुँ। मैले भुक्तानीका पक्षहरु विचको आपसी कारोबारलाई ध्यान दिइन। 

सोधनी भए अनुसारको कारोबारका क्रममा दीपक भट्टको तर्फबाट मेरो कम्पनीको खातामा नेपाल रिइन्स्योरेन्स, शेखर गोल्छा, रोहित गुप्ता, समेतबाट रकम आएको हो। म अध्यक्ष रहेको कम्पनीले आफ्नो नियमित व्यावसायिक कारोबार गरेको हो। दीपक भट्टको आर्थिक कारोबारलाई सहजीकरण गरी कसूरजन्य कार्य लुकाउने औजारको रुपमा प्रयोग भएको होइन। 

समग्र सेटलमेन्टमा ध्यान दिएकाले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को अग्रिम रकम लिनुपर्ने भन्ने विनियम ८ मा उल्लिखित व्यवस्थाको कार्यान्वयन नभएको हो। हिमालयन रिइन्स्योरेन्सबाट दोस्रो बजारमा लगानी गर्नका लागि म अध्यक्ष रहेको कम्पनीमा रकम आइरहन्थ्यो। उक्त कम्पनीका नाउँमा सेयर खरिद नगरी दीपक भट्टले आफ्ना नाउँमा सेयर खरिद गरी दिनु भनेकाले सोही अनुसार दीपक भट्टका नाउँमा उक्त सेयर खरिद गरेको हो। 

अहिले पनि हिमालयन रिको रकम मेरो कम्पनीमा बाँकी रहेको छ। उक्त कम्पनीको नाममा सेयर खरिद गरिएको छैन। दीपक भट्टको टीएमएस उहाँ आफैंले चलाउने भएकोले मेरो कम्पनीले केवल निज दीपक भट्टले खरिद गर्ने सेयरका लागि रकम अपलोड गर्ने कार्य मेरो कम्पनीले गरेको हो। 

कारोबार भएको तेस्रो दिनसम्मका सेयर विक्रेताको नाममा रकम पठाई सक्नु पर्ने प्रावधान रहेको छ। हिमालयनबाट रकम जाने आउने भइरहन्थ्यो। हिमालयनबाट मेरो कम्पनीमा एडभान्सबापत रकम आउने जाने भइरहन्थ्यो। मेरो कम्पनीमा मौज्दात रहेको रकममध्येबाट दीपक भट्टको नाममा सेयर गरेको हो। 

अहिले पनि मेरो कम्पनीको वित्तीय विवरणमा उक्त रकम तिर्नु पर्ने रकममा दायित्व जनाइएको छ। उक्त कम्पनीले रकम माग नगरेका कारणले फिर्ता नगरेको हो। सेयर विक्री पछि मेरो कम्पनीले नै रकम फिर्ता गर्नु पर्ने प्रावधान छ तथापि, उक्त हिमालयन रिको अग्रिम र एडभान्स वापतको रकम खातामा हुँदा हुदै पनि नमागेकाले फिर्ता नगरेको हो। 

यो रकम समेत प्रयोग गरी दीपक भट्टका नाउँमा सेयर खरिद गरेको हो। मेरो कम्पनीले हिसाब सेटलमेन्ट गरेको हो। मलाई दीपक भट्टले नै सो बराबरको कोल्याट्रल आफ्नो टीएमएसमा सेयर खरिद गर्नका लागि एक पटकमा रु. ५० करोड गरी पटक-पटक गरी कोल्याट्रल लोड गरी सेयर खरिद भएको हो। 

सो कोल्याट्रल लोड गर्न र खरिद गरेको सेयरको रकम भुक्तानी गर्न दीपक भट्टले नै हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड लगायत संस्थाबाट प्राप्त रकमबाट मिलान गर्न भने बमोजिम म अध्यक्ष रहेको कम्पनीले कारोबार गरिदिएको हो। 

शुभी अग्रवाललाई म व्यक्तिगत रुपमा चिन्दिनँ। निज जगदम्बा स्टिल्सका सञ्चालक समेत रहेका शुलभ अग्रवालकी पत्नी हुन् भन्ने मलाई थाहा छ। सोधनी भएको ४५ करोड रकम मैले शुलभ अग्रवालले भने बमोजिम उपलब्ध गराइदिएको रकम हो। यो रकम मैले विश्वासका आधारमा पछि फिर्ता लिने सर्तमा दिएको हुँ। 

रकम लेनदेनको कुनै कागज गरेको छैन। तर भुक्तानी गरेको रकम पत्रसहित पठाएको छ। पत्र शुभी अग्रवालकै नाउँमा बनाइएको छ। उक्त पत्रको फोटोकपी यसैसाथ पेस गरेको छु। मलाई सोधनी भए अनुसार मेरो कम्पनीको खातामा हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड, शेखर गोल्छा, रोहित गुप्ता, एचएलआई लार्ज क्याप फण्ड समेतबाट रकम आएको र सो रकम दीपक भट्टका नाउँमा सेयर खरिद गर्नका लागि प्रयोग भएको पनि ठिक हो। 

तर मैले जानीजानी कसूरजन्य कार्यलाई ढाकछोप गर्ने गलत मनसायले कुनै कारोबार गरेको छैन। मेरो कम्पनीमा कारोबार गर्ने सबै व्यक्तिहरुको बैंक खाताबाट रकम आएको हुन्छ। बैंक खातामार्फत भएको कारोबारमा जोखिम पनि कम हुन्छ भनी मान्नु पर्ने हुन्छ। 

मैले जानीजानी कृत्रिम कारोबार गरी कसैका लागि कसूर गर्न सहयोग र सहजीकरण गरेको छैन। हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड समेतका कम्पनीले रकम पठाइएको हो। त्यो रकम ल्याउने कार्यमा म र मेरो कम्पनीको भूमिका छैन। उहाँहरुको टीएमएस मैले चलाउने होइन। दीपक भट्ट समेतका नाउँमा सेयर कम्पनीले नै खरिद गरेको हो। भुक्तानी सेटलमेन्टमा मेरो कम्पनीको खाता प्रयोग भएको हो। मैले विश्वासका आधारमा कोल्याट्रल लोड गरी खरिद गर्ने सुविधा दिएको हो। 

म अध्यक्ष रहेको ५५ नम्बर ब्रोकरले विभिन्न व्यक्ति तथा हिमालयन रिइन्स्योरेन्स कम्पनी समेतबाट प्राप्त भएको रकम खातामा रहेको थियो। सेयरको कारोबारका लागि प्रथमतः सम्बन्धित व्यक्ति जिम्मेवारी रहन्छ।

टीएमएस सम्बन्धितले नै चलाउने हो। मैले व्यक्तिगत रुपमा हिमालयन रिइन्स्योरेन्स कम्पनी लगायत संस्था र व्यक्तिबाट आएको रकमबाट राफसाफ गर्नु भनी सम्बन्धित खरिदकर्ताहरुले मलाई मौखिक भने बमोजिम तत्काल उपलब्ध रहेको रकमबाट सेटलमेन्ट गरेको हुँ। 

जो व्यक्तिले सेयर खरिद गरेको र अग्रिम लगेका हुन उँहाहरुकै निर्देशनमा मैले सेयर खरिदका लागि कोल्याटर लोड गरेको र तत्कालका लागि हिसाब सेटलमेन्ट गरेको हो। यो कार्यका लागि म जिम्मेवार छैन। मेरो संस्थामा विभिन्न पव्लिक कम्पनी र म्युचल फण्डबाट रकम ल्याउनेहरु नै जिम्मेवार हुन् भन्ने समेतका व्यहोराको थप बयान।