काठमाडौं । भारतको कृषि एवम् किसान कल्याण मन्त्रालयले ने नेपाले भारतबाट हुने आँप आयातमा प्रतिबन्ध वा रोक लगाएको भन्ने केही संचारमाध्यममा आएका समाचारहरू पूर्ण रूपमा गलत र भ्रामक रहेको जनाएको छ। मन्त्रालयले ती रिपोर्टहरुको खण्डन गर्दै नेपालतर्फ आँप निर्यात निरन्तर र सहज रूपमा भइरहेको जनाएको छ।
तथ्यांक अनुसार भारतबाट नेपालतर्फ आँपको निर्यात बिना कुनै अवरोध जारी छ। सन् २०२६ जनवरीदेखि हालसम्म १४९ कन्साइन्मेन्ट (खेप) मार्फत २ हजार ५ मेट्रिक टन आँप नेपाल निर्यात भइसकेको भारतले जनाएको छ।
यसै महिनामा मात्रै अहिलेसम्म १८ कन्साइन्मेन्टमार्फत २६६ मेट्रिक टन आँप नेपाल पठाइसकिएको भारतले जनाएको छ।

यता नेपालको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले पनि भारतीय आँपमा प्रतिबन्ध नलगाएको जनाएको छ।केन्द्रका अनुसार भारतबाट आँप आयात गर्ने प्रक्रिया साविक बमोजिम नै चलिरहेको छ।
तोकिएको स्वास्थ्य तथा जीव स्वच्छता सम्बन्धी मापदण्डहरू पालना गरेर, भारत सरकारद्वारा जारी गरिएको वैध फाइटोसेनेटरी प्रमाणपत्र पेश गरेर सबै मापदण्ड पूरा गरेपछि नियमअनुसार आयात अनुमति पत्र र रिलिज अर्डरहरू जारी भइरहेको जनाइएको छ।











