सुनको भाउ दुई दिनमै तोलामा १५ हजार २०० रुपैयाँ घट्यो, कारोबार मूल्य अझै घट्छ?



बिजमाण्डू
२०८३ जेठ २८ गते ११:३८ | Jun 11, 2026
सुनको भाउ दुई दिनमै तोलामा १५ हजार २०० रुपैयाँ घट्यो, कारोबार मूल्य अझै घट्छ?

काठमाडौं। सुनचाँदीको कारोबार मूल्यमा फराकिलो अंकको गिरावट छ। सुन दुई दिनमै तोलामा १५ हजार २ सय रुपैयाँ सस्तिएको छ भने चाँदी २७५ रुपैयाँ घटेको छ।

Tata
GBIME
Nepal Life

नेपाली बजारमा बिहीबार सुन तोलाको २ लाख ८६ हजार ७ सय रुपैयाँ भएको छ। अघिल्लो दिनका तुलनामा तोलामा ५ सजार १ सय रुपैयाँ सस्तिएको हो।

बुधबार कारोबार मूल्य २ लाख ९१ हजार ८ सय रुपैयाँ थियो। मंगलबारका तुलनामा बुधबार एकैदिन १० हजार १ सय रुपैयाँ घटेर कारोबार मूल्य निर्धारण भएको थियो। मंगलबार तोलाको ३ लाख १ हजार ९ सय रुपैयाँ थियो। सोमबारका तुलनामा मंगलबार तोलामा २ हजार रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको थियो।

गत आइतबार प्रति तोला ३ लाख ८ सय रुपैयाँ भएकोमा सोमबार ९ सय रुपैयाँ घटेर तोलाको २ लाख ९९ हजार ९ सय रुपैयाँ भएको थियो।

चाँदीको कारोबार मूल्यमा पनि गिरावट छ। बिहीबार कारोबार मूल्य ४ हजार ६ सय ५० रुपैयाँ भएको छ। यो बुधबारका तुलनामा ९० रुपैयाँ सस्तिएको हो। अघिल्लो दिनका तुलनामा बुधबार १८५ रुपैयाँ घटेर कारोबार मूल्य तोलाको ४ हजार ७ सय ४० रुपैयाँ भएको थियो। मंगलबार तोलाको ४ हजार ९ सय २५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमै सुनको कारोबार मूल्य घट्दा नेपाली बजारमा पनि असर देखिएको हो। अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रति औंस ४०९६.१ डलरले कारोबार भइरहेको छ भने चाँदी प्रति औंस ६४.१३ डलर भएको छ। बुधबार सुन प्रति औंस ४१७८.४३ र चाँदी ६३.८२ डलरले कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पछिल्ला दिन सुन तथा चाँदीको मूल्यमा दबाब बढेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको हो। समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी अर्थतन्त्र अपेक्षाभन्दा बलियो देखिनु, रोजगार तथा मुद्रास्फीति सम्बन्धी तथ्यांकले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले ब्याजदर लामो समय उच्च राख्न सक्ने संकेत दिनु तथा अमेरिकी डलर र ट्रेजरी प्रतिफल (बण्ड यिल्ड) मजबुत बन्नुले सुनको आकर्षण घटाएको विश्लेषकहरू बताउँछन्। 

डलर बलियो रह्यो भने सुन प्रायः कमजोर हुन्छ। पछिल्ला दिनमा डलर र अमेरिकी बण्ड प्रतिफल बढेकाले सुन घटेको हो। अहिलेको अवस्थालाई हेर्दा सुनको मूल्य छोटो अवधिमा अझै केही दबाबमा रहन सक्ने संकेत देखिएको छ, तर निरन्तर ठूलो गिरावट नै हुन्छ भनेर किटान गर्न सकिने अवस्था भने छैन।