
काठमाडौ। निजी क्षेत्रको वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले कम्पनीको नाम फेर्ने भएको छ।
भारतको कुबेर समूहको लगानी भित्रिएसँगै कम्पनीले डेढ वर्ष भित्रमा जहाज संख्या विस्तार गर्दै 'कुबेर एयरलाइन्स' नामाकरणका लागि प्रक्रिया सुरु गरेको जनाएको छ। कम्पनीमा लगानीको ७५ प्रतिशत भारतको कुबेर समूहको छ। अब नाम 'कुबेर एयरलाइन्स' मा रुपान्तरण गर्न लागिएको कम्पनीका अध्यक्ष दीपक पोखरेलले बताए। यसका लागि कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रक्रिया सुरु गरिसकेको उनले जानकारी दिए।
'हामीसँग भारतको कुबेर समूहको लगानी छ र थप लगानी पनि बढाउँदै छ। उसको लगानी बढी भएपछि कम्पनी स्थापित गर्नका लागि नाम परिवर्तन गर्न लागिएको हो। तत्कालै नभए पनि डेढ वर्षभित्र नाम परिवर्तन गरिने छ,' उनले भने। प्रक्रियाका कारण कम्पनीको नाम परिवर्तन गराउनका लागि केही समय लाग्ने उनले बताए।
कुबेरकै लगानीमा कम्पनीले थप चारवटा एटीआर-७२ जहाज थप्ने योजना बनाएको छ। जहाज थपिए लगत्तै कम्पनीको नाम परिवर्तन हुने प्रक्रिया सुरु गरिएको हो। 'हामीले चारवटा एटीआर ल्याउन लागेका छौं। जहाज खरिदका लागि जेट एयरवेजसँग सम्झौता पनि भइसकेको थियो तर केही कारणले त्यो कम्पनीबाट ल्याउन सकिएन,' उनले भने, 'हामीले अब युरोपियन कम्पनीसँग जहाज खरिदका लागि कुरा गरिरहेका छौं।'
उनका अनुसार कम्पनीले एक वर्षभित्रै जहाज संख्या सात पुर्याउने व्यवसायिक योजना बनाएको छ। सरकारले उड्डयन उद्योगमा विदेशी कम्पनीका लागि ८० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था गरेसँगै कुबेरले सौर्यमा लगानी बढाउँदै लगेको हो। कम्पनीसँग हाल तीन सीआरजे-२०० सिरिजका जहाज छन्। यतिखेर दुई जहाजले नियमित उडान गर्दै आएको उनले बताए।
एउटा जहाज तीन वर्षदेखि ग्राउण्डेड छ। त्यसको मर्मतका लागि कम्पनीले प्राविधिक बोलाएको छ। मर्मतपछि उक्त जहाज पनि तीन महिना भित्रै सञ्चालनमा ल्याउने योजना रहेको अध्यक्ष पोखरेलले बताए। 'वायुसेवा कम्पनीको सबैभन्दा ठूलो खर्च हुने भनेकै इन्जिनमा हो। एउटा जहाजको दुईवटा इन्जिन ल्याउनै ३० करोड रुपैयाँ पर्न आउँछ,' उनले भने, 'ल्याण्डिङ गियरको पाँच करोड रुपैयाँ पर्न आउँछ। हामीले तीनैवटा जहाजका लागि अतिरिक्त इन्जिन र ल्याण्डिङ गियर ल्याइसकेका छौं।'
सौर्यमा डेढ वर्षअघि भारतको कुबेर समूह साझेदार बनेर भित्रिएको हो। कुबेर समूहको प्रवेशसँगै १० वटा नयाँ जहाज थपेर आन्तरिक हवाई व्यवसायमा आफ्नो हिस्सा बढाउने योजना कम्पनीले बनाएको छ। कोभिड-१९ का कारण आफ्नो व्यवसायिक योजना अनुसार क्षमता बिस्तार गर्न नसकिएको कम्पनीले जनाएको छ।
मुलुकको आन्तरिक उड्डयन क्षेत्रमा पहिलोपटक जेट इन्जिनयुक्त जहाज संचालनमा ल्याएको कम्पनीले दुईवटा सीआरजे-२०० जहाजबाट सेवा सुरु गरेको थियो ।
यसरी डगमगाएको थियो सौर्य
अग्नि एयर ढलेसँगै आन्तरिक उड्डयनमा सिर्जना भएको 'भ्याकुम' मा आफ्नो बजार बनाउने सोचले सुरु भएका एयरलाइन्सहरुमा सौर्य पनि थियो। तर संचालनमा आएको एक-दुई वर्षमै सुरु भएको संचालकहरु बीचको खटपटले सौर्यले न जहाज थप्न सकेको थियो, न त बजार पकड बढाउन नै।
अपेक्षित बिजनेस गर्न नसक्दा सौर्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) लाई तिर्नुपर्ने बक्यौता मात्र होइन, कर्मचारी-कामदारको तलब तथा पारिश्रमिक, जहाज मर्मत सम्भार लगायतका सम्पूर्ण खर्चहरुको दायित्व खप्टिँदै गएको थियो। नेपालमै पहिलोपटक जेट इन्जिन जहाजमार्फत आन्तरिक उडान सुरु गरे पनि सौर्यको आर्थिक स्वास्थ्य बिग्रँदै गयो।
खर्च र दायित्वको भार बढ्दै गएपछि कम्पनीका लगानीकर्ताहरुले नाफा कस्तो हुन्छ भन्ने देख्न पाएनन्। जसले गर्दा संचालकहरु बीच बढेको किचलोले कम्पनी छोटो समयमै कमजोर देखियो। त्यसै पनि जेट इन्जिन जहाजको संचालन खर्च थेग्नै मुस्किल भइरहेको बेला सौर्यले आन्तरिकतर्फ पनि लामो दुरी उडान क्षमताको जहाज छोटो दुरीमा उडाउनुपर्दा थप नोक्सानी थियो।
अर्कोतर्फ, संचालनमा आएको दुई वर्ष नपुग्दै दुई जहाजमध्ये एउटामा समस्या आउन थाल्यो। त्यसपछि एउटै जहाजले पाँचवटा गन्तव्यमा उडान गर्नुपर्दा अन्य वायुसेवा कम्पनीसँगको प्रतिस्पर्धी क्षमता पनि साँघुरियो। उता टीआइएको बक्यौता ६० दिनभन्दा लामो समय रहेकाले उडानमा पनि रोक लागेको थियो। यो अवस्थामा कम्पनी लामो समय टिक्न मुस्किल हुने देखेपछि संचालकहरुले नयाँ लगानीकर्ता खोज्न शुरु गरे।
त्यसैबीच दुई वर्षअघि (२०७५ साउनमा) अचानक सौर्य एयरलाइन्स बिक्री भएको घोषणा भयो। चीनमा व्यवसाय गरिरहेका गैरआवासीय नेपाली घनश्याम अधिकारी लगायतको समूहले कम्पनीको सम्पूर्ण दायित्व सकार्ने गरी ६७ करोड रुपैयाँमा सौर्य एयर किनेको अध्यक्ष दीपक पोखरेलले बताएका थिए।
त्यसपछि अधिकारीको समूहले नै सौर्यको सम्पूर्ण व्यवस्थापन र संचालनको जिम्मेवारी लियो र उडानयोग्य अवस्थामा रहेको एउटा जहाजबाट नियमित उडान पनि सुरु भयो। तर अधिकारी समूहले एयरलाइन्स जिम्मा लिएको तीन महिना पनि नपुग्दै फेरि लफडा सुरु भयो । उनीहरुले टीआइएलाई तिर्नुपर्ने रकम चार करोड पुग्यो। समयमा बक्यौता तिर्न नसकेपछि सौर्यको उडानमा फेरि रोक लाग्यो।
जानकारहरुका अनुसार, अधिकारी समूहले पोखरेल समूहबाट एयरलाइन्स ६७ करोडमा किन्ने सहमति गरेर संचालन गर्न थालेको भए पनि त्यसबमोजिम रकम दिने र दायित्वहरु सकार्ने काम गरेनन्। बरु सात महिनामा उल्टै ३० करोड रुपैयाँ डुबाइदिए। त्यसपछि पोखरेल समूहले पुनः अधिकारीलगायतलाई हटाएर नयाँ लगानीकर्ता भित्र्याउने कसरत थाले। र, फेला पारे भारतीय व्यवसायी विकास मालु।
भारतका साथै दुबईमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका मालुको भारतीय कम्पनी कुबेर समूह सौर्य एयरलाइन्सको नयाँ साझेदार बनेर भित्रिन लागेको २०७५ फागुन ८ मा घोषणा भयो । कुबेरले सौर्यको ७५ प्रतिशत सेयर पाउने गरी ६२ करोड रुपैयाँ हाल्यो । अध्यक्षमा दीपक पोखरेल नै रहे। त्यसपछि डेढ वर्षयता सौर्यले सम्पूर्ण बक्यौता चुक्ता गर्नुका साथै कम्पनीको पुनरुत्थानमा व्यापक योजनाका साथ काम गरिरहेको छ।











