धुन्चेमा गाडीबाट स्रोत नखुलेको साढे १९ लाख नगद बरामद, हुन्डीको पैसा ओसारपसारको शंका

बिजमाण्डू
२०८३ जेठ २४ गते १६:१२ | Jun 7, 2026
धुन्चेमा गाडीबाट स्रोत नखुलेको साढे १९ लाख नगद बरामद, हुन्डीको पैसा ओसारपसारको शंका


काठमाडौं। स्रोत नखुलेको १९ लाख ५२ हजार १०० नेपाली रुपैयाँसहित जिल्ला प्रहरी कार्यालय धुन्चे, रसुवाले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोसाइँकुण्ड-३ का ३५ वर्षीय मिङमार छिरिङ गुरुङ छन्।

GBIME
Tata

प्रहरीका अनुसार रसुवाको गोसाइँकुण्ड-६ धुन्चे बजारस्थित अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले पासाङ ल्हामु राजमार्ग सडकखण्डमा गाडी जाँच गरिरहेको थियो। शनिबार स्याफ्रुबेंसीबाट काठमाडौंतर्फ जाँदै गरेको बा१ज ४८०७ नम्बरको भाडाको सुमो गाडीलाई रोकेर  खानतलासी गर्दा उक्त रकम फेला परेको हो।

गुरुङले बोकेको झोलाबाट नेरु १००० दरका १८४५ थान, ५०० दरका २१३ थान र १०० दरका ६ थान नोट बरामद भएको प्रहरीले जनाएको छ। गुरुङले हुण्डीको पैसा ओसारपसार गरेको शंका छ।  गुरुङलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान र कानुनी कारबाहीका लागि रसुवा जिल्ला अदालतबाट सात दिनको म्याद लिएको छ।