काठमाडौं। गृह मन्त्रालयले १२ जना सहसचिवको सरूवा गरेको छ। मन्त्रालयले शुक्रबार १२ जना सहसचिवको सरूवा तथा ४ जनाको पदस्थापना गरेको हो।
स्याङ्जा, नवलपरासी पूर्व, संखुवासभा, पाल्पा, सुर्खेत, रामेछाप, सप्तरी, कास्की, धनकुटा, धादिङ, ओखलढुंगा, उदयपुर र सर्लाहीका प्रमुख जिल्ला अधिकारी सीडीओ हेरफेर भएका छन्।
कास्कीकी सीडीओ रुद्रादेवी शर्मालाई धनकुटा पुर्याइएको छ। संखुवासभाकी सीडीओ सिर्जना थपलियालाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सरुवा गरी उनको स्थानमा स्याङ्जाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई पठाइएको छ।
कास्कीको सीडीओमा कुमानसिंह गुरुङ र स्याङ्जाको सीडीओमा निराजन घिमिरेको पदस्थापना गरिएको छ। यस्तै लक्ष्मी पाण्डे गौतमलाई धादिङको सीडीओमा पदस्थापना गरी त्यहाँ कार्यरत विजयराज सुवेदीलाई सर्लाहीको सीडीओ बनाइएको छ।
सर्लाहीका सीडीओ रामुराज कडरिया मन्त्रालयमा सरुवा भएका छन्।









