काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले प्रशासकीय पुनरवलोकन समिति गठन गरेको छ।
प्राधिकरणको सञ्चालक समिति बैठकले सञ्चालक कृष्ण बसेलको संयोजकत्वमा प्रशासकीय पुनरवलोकन समिति गठन गरेको हो।
यो समितिले विद्युत् महसुल, जरिवाना तथा प्रशासनिक निर्णयसँग सम्बन्धित विवाद समाधानका लागि काम गर्नेछ।
सञ्चालक समिति बैठकले प्राधिकरणमा रिक्त विभिन्न पदमा पदपूर्ति प्रक्रिया अघि बढाउन प्राधिकरणकै पूर्वउपकार्यकारी निर्देशक शान्तिलक्ष्मी शाक्यलाई विज्ञ सदस्य नियुक्त गर्ने निर्णय गरेको छ।
यस्तै ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् केन्द्रको सेयर स्वामित्व हस्तान्तरण र व्यवस्थापनका लागि गठित वार्ता समिति पुनर्गठन गरिएको छ। सञ्चालक अंशु किरण शाहीको संयोजकत्वमा समिति पुनर्गठन गरिएको हो।
समितिले आयोजनाको स्वामित्व, नयाँ विद्युत् खरिद सम्झौता (पीपीए), रोयल्टी तथा कर भुक्तानीलगायत विषयमा प्रवर्धक कम्पनीसँग वार्ता गर्नेछ।
खिम्ती जलविद्युत् आयोजनाको प्रवर्धक हिमाल पावर लिमिटेड हो। खिम्ती आयोजनाले २०५७ असार २७ गते व्यावसायिक उत्पादन सुरु गरेको थियो।
सम्झौताअनुसार व्यावसायिक उत्पादन थालेको २० वर्षपछि आयोजनाको ५० प्रतिशत स्वामित्व प्राधिकरणमा हस्तान्तरण हुनुपर्नेमा विविध कारण अहिलेसम्म हुन सकेको छैन। आयोजनाबाट उत्पादित विद्युतको नयाँ खरिद दर, रोयल्टी तथा करको विषय पनि टुंगो लगाउनुपर्नेछ।










