भन्सार बढेसँगै सुनको मूल्यमा तोलाको २० हजार ५ सय रुपैयाँ बढोत्तरी, चाँदी पनि महँगियो

बिजमाण्डू
२०८३ जेठ १७ गते ११:०२ | May 31, 2026
भन्सार बढेसँगै सुनको मूल्यमा तोलाको २० हजार ५ सय रुपैयाँ बढोत्तरी, चाँदी पनि महँगियो


काठमाडौं। भन्सार १० प्रतिशत बढेपछि आइतबार सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला ३ लाख ११ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।

GBIME
Tata

यसअघि तोलामा ५ हजार ६ सय रुपैयाँले बढेर शुक्रबार प्रति तोला २ लाख ९० हजार ६ सय रुपैयाँ भएको थियो।

शुक्रबार सरकारले आगामी वर्षको बजेटमा सुनको भन्सार १० प्रतिशतबाट बढाएर २० प्रतिशत बनाएको थियो। यसले गर्दा आइतबार सुनको मूल्य तोलामा २० हजार भन्दा बढी बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियेशरत्न शाक्यले बताए।

‘आइतबार एक्सचेन्ज रेट अलिकति कम भएकाले सुनको मूल्य कायम भएको छ। होइन भने मूल्य अझै महँगो हुने थियो,’ उनले भने।

चाँदीमा पनि भन्सार बढेपछि मूल्य तोलामा ३०५ रुपैयाँ बढेको छ। आइतबार चाँदीको कारोबार मूल्य प्रति तोला ५ हजार ३४५ रुपैयाँ कायम भएको छ। शुक्रबार तोलाको ५ हजार ४० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आइतबार प्रति औंस ४५३९.७६ डलर र चाँदी प्रति औंस ७५.२९ डलर छ।