एभरेष्ट कलरको आइपीओ जेठ २२ देखि खुल्दै, सर्वसाधारणलाई ६ लाख ५५ हजार कित्ता



बिजमाण्डू
२०८३ जेठ १० गते १०:५३ | May 24, 2026
एभरेष्ट कलरको आइपीओ जेठ २२ देखि खुल्दै, सर्वसाधारणलाई ६ लाख ५५ हजार कित्ता


काठमाडौं। एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि जेठ २२ गतेदेखि सेयरमा आवेदन खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारलाई सेयर निष्कासन गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई वितरण गर्न लागेको हो।

Vigo
GBIME
Tata

एभरेष्ट कलरले सर्वसाधारणलाई ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको ६ लाख ५५ हजार ७०० कित्ता सेयर छुट्याएको छ।

कम्पनीको आइपीओमा लगानीकर्ताले जेठ २७ गतेसम्म आवेदन दिन सक्नेछन। अंकित मूल्य १०० रुपैयाँ दरको आइपीओमा लगानीकर्ताले १० देखि अधिकतम १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउनेछन्।

एभरेष्ट कलरले जारी पुँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको सेयर निष्कासन अनुमति पाएकामा यसअघि पहिलो चरणमा वैदेशिक रोजगार, सामूहिक लगानी कोष र कर्मचारीलाई वितरण गरिसकेको छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ।

आइपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

२०६८ सालमा स्थापना भएको यो कम्पनीको उद्योग चितवनको खैरहनीमा छ भने कर्पोरेट कार्यालय भक्तपुरको कौशलटारमा छ। यसले घरको भित्री र बाहिरी भित्तामा लगाउने प्रिमियमदेखि इकोनोमी रेन्जका विभिन्न पेन्टहरू, इनामेल, र अन्य औद्योगिक रङहरू उत्पादन गर्दछ। केही प्रिमियम उत्पादनमा ७ देखि १२ वर्षसम्मको वारेन्टी समेत दिने गरेको छ।

कम्पनीको आर्थिक वर्ष २०८२/८३ पुससम्म प्रति सेयर आम्दानी ८.३७,प्रति सेयर नेटवर्थ ११८.४ रुपैयाँ छ। यस्तै, पुससम्म ९० लाख रुपैयाँ सञ्चित नाफामा रहेको कम्पनीले जनाएको छ।