महोत्तरीको सोनमाका प्रमुख प्रशासकीय अधिकृत ७२ हजार रुपैयाँ घूससहित पक्राउ

बिजमाण्डू
२०८३ जेठ ९ गते १२:४६ | May 23, 2026
महोत्तरीको सोनमाका प्रमुख प्रशासकीय अधिकृत ७२ हजार रुपैयाँ घूससहित पक्राउ


काठमाडौं। महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घूस लिएको रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई सेवाग्राहीबाट घूस लिइसकेको अवस्थामा शुक्रबार नियन्त्रणमा लिएको हो।

GBIME
Tata

अख्तियारका अनुसार सडक ढलान योजनाको कार्य सम्पन्न भएपछि भुक्तानी प्रक्रिया मिलाइदिने क्रममा यादवले विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

उक्त सूचनापछि खटिएको अख्तियारको टोलीले यादवलाई ७२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको जनाएको छ। महोत्तरीको गौशाला-५ निगौलस्थित सम्सी–गौशाला सडक खण्डमा गौशालातर्फ जाँदै गरेको सरकारी नम्बर प्लेटको गाडीसँगै उनलाई नियन्त्रणमा लिइएको हो।

अख्तियारले पक्राउका क्रममा घूस रकमबाहेक यादवबाट स्रोत नखुलेको ८३ हजार १४५ रुपैयाँ नगद पनि बरामद गरेको जनाएको छ। उनीसँग रहेको एउटा ल्यापटप, दुई वटा मोबाइल फोन र सरकारी कागजातहरु पनि नियन्त्रणमा लिइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जनाएका छन्।