काठमाडौं। एक सयजना महिलाको समूहले सिस्टरहुड प्लाटफर्ममार्फत नयाँ उद्यमको सुरुवात गरेका छन्। घरेलु तथा साना उद्यममा लागेका तर व्यावसायिक सञ्जालमा आबद्ध हुन नसकेका महिलाहरुलाई सिस्टरहुड क्लोथिङ प्रालिले आफ्नो व्यावसायिक अभियानमा जोडेको हो।
‘१०० विमेन इन बिजनेस’ नामको यस अभियानले पहिलो चरणमा नेपालमै उत्पादित कपडा व्यवसायको बिक्री तथा प्रवर्द्धन गर्नेछ। यो समूहले काठमाडौंको चण्डोलमा आउटलेट समेत संचालनमा ल्याएको छ। सिस्टरहुड प्लाटफर्ममार्फत यो समूहले नेपालमै उत्पादित पर्फ्युमलाई पनि बजार खोज्ने छ।
‘एक्लै हिड्दा गन्तब्यमा छिटो र सहजतासँग पुगिएला। तर समूहमा हिड्दा ढिला भएपनि धेरैजनाले एकैसाथ त्यो गन्तब्य भेट्न सक्छन्। फरक उद्यम र उद्देश्य भएका दिदीबहिनीलाई एकैसाथ समेटेर लैजान अनेक चुनौती छन्। तर स्वदेशी उत्पादनको प्रवर्द्धन र उद्यमशीलताको यात्रामा धेरै भन्दा धेरै महिलाहरुको आबद्धता र सफलतालाई हामीले आफ्नो लक्ष्य बनाएका छौं।’ – सिस्टरहुडको अभियानबारे प्रमुख कार्यकारी अधिकृत एन्जेला श्रेष्ठले भनिन्।

मेड इन नेपाल कपडा व्यवसायको आधिकारिक घोषणा कार्यक्रम आयोजना गरी सिस्टरहुडले सामुहिक शक्तिबाट महिलाहरुलाई व्यावसायिक रुपमा सफल बनाउन सक्छ भनेर आफ्नो समूहले उदाहरण प्रस्तुत गर्न चाहेको उनको भनाई छ।
सामुहिक व्यवसायको सुरुवातबारे जानकारी दिन काठमाडौंमा आयोजित कार्यक्रममा सफल महिला व्यक्तित्व सबिना काफ्लेले यो अभियानको खुलेर प्रशंसा गरिन्। स्वदेशी उत्पादनहरुको प्रवर्द्धनसँगै महिलाहरुको सशक्तिकरणमा यो अभियानले दीगो प्रभाव पार्ने उनले बताइन्।
सिस्टरहुडले आफ्नै अनलाइन पोर्टल सिस्टरहुड फेसन डट कमको आधिकारिक सुरुवात पनि गरेको छ। मेड इन नेपाल पोशाकहरुको अनलाइन बिक्री वितरणका लागि कम्पनीले आफ्नो आधिकारिक पेज संचालनमा ल्याएको हो।

तयारी पोशाक, परफ्युमका साथै हस्तकला तथा अन्य किसिमका स्वदेशी उत्पादनलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्यका साथ व्यावसायिक योजना बनाएको कम्पनीकी प्रमुख कार्यकारी अधिकृत एन्जेला श्रेष्ठले जानकारी दिइन्।
काठमाडौंको चण्डोलमा पहिलो आउटलेट सुरुवात लगत्तै पोखरामा दोस्रो आउटलेट संचालनको तयारी रहेको पनि उनले बताइन्।
आउटलेटबाट समूहमा आबद्ध बिभिन्न उद्यममा संलग्न महिलाहरुको उत्पादनहरुलाई बिक्री तथा प्रवर्द्धन गरिने छ। साझा प्लाटफर्ममा जोडिन एकसय महिलाले प्रतिव्यक्ति दुई लाख रुपैयाँ लगानी गरेका छन्। आर्थिक आत्मनिर्भरताको यात्रामा सानो पुँजीले पनि फराकिलो संभावनाको बजार पाउन सकिन्छ भन्ने उदाहरण बन्न चाहेको सिस्टरहुडले जनाएको छ।









