सिरहा। सशस्त्र प्रहरीले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा अवैध सामानसहित एक मालवाहक गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ। नवराजपुर-५ देवनगरबाट गस्तीका क्रममा नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्रको नं ७ गण सिरहाका प्रमुख एसपी सुमनजंग थापाका अनुसार शनिबार राति करिब ९ बजे स१ख ५३५ नम्बरको टाटा टुटोन गाडी रोकेर जाँच गर्दा अवैध मालवस्तु बरामद भएको हो। अवैध ओसारपसार रोक्न विशेष सुराकीका आधारमा राति गणबाट ३५ सदस्यीय टोली खटिएको थियो। उक्त ट्रकबाट करीब १९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको कस्मेटिक सामग्री, मन्जन (टुथपेस्ट) र ओखर बरामद भएको छ।
बरामद गरिएको सामान र गाडीको अनुमानित बजार मूल्य करिब ४० लाख रहेको बताइएको छ। घटनामा संलग्न आरोपमा नवराजपुर-५ का ५० वर्षीय राजेशकुमार यादव र ३९ वर्षीय आनन्द यादवलाई पक्राउ गरिएको छ।
पक्राउ परेका दुवैसहित बरामद सामान र गाडी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी उपरीक्षक थापाले जानकारी दिए।










