काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई सुनचाँदीका गहनाको प्रयोग कम गर्न आग्रह गरेको पर्सिपल्टै भन्सार शुल्क ९ प्रतिशतले वृद्धि गरेको छ। भारतमा अब सुन आयात गर्दा १५ प्रतिशत भन्सार लाग्छ। यसअघि सुनमा भन्सार शुल्क ६ प्रतिशत मात्रै थियो।
यसअघि त्यहाँ भन्सार महसुल ५ र कृषि शुल्क (सेस) १ गरी कुल ६ प्रतिशतमा आयात भइरहेको सुनचाँदीमा अब भन्सार महसुल १० र सेस ५ प्रतिशत कायम गरिएको छ।
झट्ट हेर्दा १५ प्रतिशतको वृद्धि देखिए पनि यसको कुल असर १५.५ प्रतिशत हुनेछ र यथार्थ महसुलवृद्धि साढे ९ प्रतिशत पुग्नेछ। भन्सार शुल्क वृद्धिपछि हालको मूल्यमा भारतमा एकतोला सुनमा नेरु साढे २७ हजारले वृद्धि हुने व्यवसायीले बताएका छन्।
भारत सरकारले परिवत्र्य विदेशी विनिमयको वचत गर्ने, व्यापारघाटा घटाउने, भारु जोगाउने र लक्जरी आयात नियन्त्रण गर्ने उद्देश्यका साथ सुनचाँदीको महसुल वृद्धि गरेको हो।
भारतमा सुनको उत्पादन नगण्य छ। त्यहाँ लगभग शतप्रतिशत सुन आयात गर्नुपर्ने अवस्था रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। हाल युद्धका कारण सुनको मूल्यमा भारी वृद्धि भएका बेला भारतले सुनको आयात गर्दा ठुलो मात्रामा परिवत्र्य विदेशी विनिमय बाहिरिइरहेको छ।
युद्ध र स्ट्रेट अफ हर्मुजमा आएको संकटले पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा साथै भूराजनीतिक तनावले समेत भारतको विदेशी मुद्रा सञ्चितिमा प्रत्यक्ष दबाब परेको छ। यसलाई कम गर्न पनि भारतले सुनचाँदीको आयात महसुल वृद्धि गरेको हो।
नेपालमा तोलाको १६ हजारले सस्तो
भारतमा महसुलवृद्धि सँगै त्यहाँका तुलनामा नेपालमा सुन तोलाको १६ हजार रुपैयाँले सस्तो हुनेछ। नेपालमा सुनको आयात गर्दा भन्सारविन्दुमा १० प्रतिशत महसुल बुझाउनु पर्छ।
भारतमा १० र ५ को कम्पाउन्ड असर साढे १५ प्रतिशत पुग्छ। महसुलमा साढे ५ प्रतिशतको अन्तर आएपछि नेपालमा हालको मूल्यमा भारतमा भन्दा १६ हजारले कम हुने भएको छ। हाल सुन आयातको बेसिक रेट तोलाको २ लाख ९० हजार छ।
तस्करीको रुट खुल्ने डर
नेपालमा भन्दा भारतमा तोलामै १६ हजार रुपैयाँ सस्तो हुने भएपछि यहाँबाट सुनतस्करी हुने सम्भावना बढेको छ।
आयात महसुलका कारण विगत २ वर्षदेखि चीनबाट नेपालको बाटो हुँदै भारततर्फ अवैध रूपमा जाने सुनको धन्धा रोकिएको थियो। अब भने यसको पुनरावृत्ति हुनसक्ने व्यवसायीले बताएका छन्।
चीनबाट नेपालहुँदै भारततर्फ सुनको अवैध निकासी भएमा नेपालको खुला बजारमा भारुको मूल्य घट्ने र अवैध बजारमा डलरको मूल्यवृद्धि हुने व्यवसायीको धारणा छ।
किनकि नेपालका कारोबारीलाई भारतीयले नेरुमा भुक्तानी गर्नुपर्ने छ। साथै चीनतर्फ अवैध हुन्डीमार्फत् डलर पठाउनु पर्ने छ। मंगलबारसम्म सुनको आयात महसुल भारतमा सस्तो थियो। नेपालमा १० हुँदा भारतमा ६ प्रतिशत मात्र थियो। यसका कारण सम्भ्रान्त वर्गका उपभोक्ता गहना खरिद गर्न भारत गइरहेका थिए । अब यो क्रम पनि बन्द हुनेछ।
मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष एवम् श्रीमहालक्ष्मी ज्वेलर्सका सञ्चालक विकास बेगवानीले भारत सरकारले गरेको महसुल वृद्धि नेपालका लागि स्वागतयोग्य भएको बताए।
व्यवसायी बेगवानीले नेपालका ग्राहक अब भारत गएर गहना खरिद नगर्ने बरु भारतीय ग्राहक नै नेपालको बजारमा आकर्षित हुने उल्लेख गरे।










