काठमाडौं। छिमेक लघुवित्त वित्तीय संस्था नाफा बढाउन सफल भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक चैत मसान्तसम्म संस्थाको नाफा ६.२० प्रतिशतले बढेर ९० करोड ६४ लाख ७६ हजार रुपैयाँ पुगेको छ।
पोहोर ९ महिनामा खुद नाफा ८५ करोड ३५ लाख रुपैयाँ थियो। लघुवित्तको कर्जा नोक्सानी घटेर ब्याज आम्दानी बढेसँगै नाफा बढेको हो।
चैत मसान्तसम्म संस्थाले २ अर्ब २० करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यस्तै, संस्थाको सञ्चालन मुनाफा १ अर्ब २६ करोड ९७ लाख रुपैयाँ छ।
चैत मसान्तसम्म लघुवित्तको प्रति सेयर आम्दानी ३३.४१ रुपैयाँ र प्रति सेयर नेटवर्थ २४१.९३ रुपैयाँ छ। गत वर्षको तुलनामा लघुवित्तको खराब कर्जा भने सुधार भएको छ। पोहोर चैतसम्म २.६० प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर २.३२ प्रतिशतमा आएको छ।
लघुवित्तको पुँजी कोष अनुपात १६.७५ प्रतिशत छ। छिमेकले चैत मसान्तसम्म ग्राहकहरूबाट ४४ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। संस्थाको जगेडा कोषमा १ अर्ब ९५ करोड रुपैयाँ सञ्चित छ भने चुक्ता पुँजी ३ अर्ब ६१ करोड ७२ लाख रुपैयाँ छ।
वित्तीय विवरणमा लघुवित्तले वर्तमान आर्थिक मन्दी, उच्च सञ्चालन लागत र लघुवित्त विरोधी गतिविधिहरूलाई मुख्य चुनौतीका रूपमा औंल्याएको छ। यी चुनौतीको सामना गर्न संस्थाले डिजिटल बैंकिङको विस्तार, कृषि क्षेत्रमा लगानी वृद्धि र खर्च कटौतीको नीति लिने जनाएको छ।










