काठमाडौं। निभ कर्पोरेसनले आइपीओ जारी गर्ने भएको छ। कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले २५ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो।
कम्पनीले आइपीओ निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धमा ग्लोबल आइएमई क्यापिटल र निभ कर्पोरेसनबीच सम्झौता भएको छ।
निभका अध्यक्ष यज्ञमुर्ति न्यौपाने र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईंटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
नेपालको कृषि तथा पर्यटन क्षेत्रमा आधुनिक, दिगो तथा स्थानीय पहिचानमा आधारित व्यवसाय सञ्चालन गर्ने उद्देश्यसहित २०७६ मा स्थापना भएको निभको केन्द्रीय कार्यालय दाङको तुलसीपुरमा छ।
कम्पनीले हाल स्थानीय संस्कृति, स्वाद, भेषभूषा तथा परिवेशलाई समेटेर होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएको छ।










