काठमाडौं। रामबहादुर बमजनले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले बैशाख ८ गते नै सफाइ दिइएको हो।
दाबी नपुग्ने भन्दै न्यायाधीश महेन्द्रराज काफ्लेको एकल इजलासले उनलाई सफाइ दिइएको हो। २०८२ जेठको दोस्रो साता जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको थियो। उनको सम्पत्तिमध्ये ८ करोड २७ लाख ५९ हजार ४८१ रुपैयाँको स्रोत भेटिएको थिएन।
भक्तहरूले दिएको दान भने पनि जुन कानुनअनुसार वैध देखिँदैन। बमजनको नाममा चितवनमा जग्गा, विदेशी मुद्रा र महँगा सवारीसाधन भेटिएको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले काठमाडौंको बुढानीलकण्ठ-६ टन गाउँमा लुकीछिपी बस्दै आएका बमजनलाई पक्राउ गरेपछि उनले आश्रय लिएको घरबाट ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ नगद बरामद भएको थियो।
त्यहीँबाट १७ मुलुकका मुद्रा ३० लाख ९२ हजार ४ सय ६.७ रुपैयाँ बराबरको पनि भेटिएको थियो। घरको दोस्रो तलामा रहेको सेफभित्र रकम मिलाएर राखेको अवस्था भेटिएको थियो। बरामद रकममा विभिन्न बैंकबाट झिकेको ट्याग समेत थियो।
बाल यौन दुरुपयोगको मुद्दा समेत खेपेका बम्जनले उच्च अदालत जनकपुरबाट सफाइ पाएका थिए।










