त्रिभुवन विश्वविद्यालय शैक्षिक क्यालेन्डर सुधार्दै, तीन दशकपछि पनि मौका परीक्षा दिन पाइने

बिजमाण्डू
२०८३ बैशाख १९ गते ११:३४ | May 2, 2026
त्रिभुवन विश्वविद्यालय शैक्षिक क्यालेन्डर सुधार्दै, तीन दशकपछि पनि मौका परीक्षा दिन पाइने


काठमाडौं। त्रिभुवन विश्वविद्यालयले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार परीक्षा सञ्चालन गर्न अहिले अनियमित भएका परीक्षालाई धमाधम सञ्चालन गरिरहेको कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जानकारी दिए।

GBIME
Tata

‘अहिले हामी अनियमित भएका शैक्षिक पात्रोलाई सुर्धानका लागि महिनामा तीनदेखि चार प्रकारका परीक्षा लिइरहेका छौँ,’ उनले भने, ‘२०५३ सालदेखिका मौका परीक्षा पनि असारसम्म सम्पन्न गर्नेगरी परीक्षा भइरहेका छन्।’

वैशाख महिनामात्रै चार प्रकारका परीक्षा सञ्चालन भइरहेका छन्। स्नातक तहतर्फ बीएएलएलबीको दोस्रो वर्ष, स्नातक तह नियमित दोस्रो वर्ष, बीटेक पहिलो र दोस्रो वर्षको परीक्षा सञ्चालन भइरहेको छ। परीक्षा नियन्त्रक पौडेलले असारसम्म सबै परीक्षा सम्पन्न गरेर आगामी साउनदेखि शैक्षिक पात्रोमा उल्लेख गरिएका २०८३ अन्तर्गतका परीक्षा सञ्चालन गर्ने बताए।

उनका अनुसार जेठ महिनामा तीनवर्षे स्नातक तहको पहिलो वर्ष र चारवर्षे स्नातक तहतर्फ पहिलो वर्ष, बीएएलएलबी तेस्रो वर्ष, बीटेक तेस्रो वर्षको परीक्षाको कार्यतालिका सार्वजनिक गरिसकेको छ। यस्तै असार महिनामा स्नातक तहको सबै संकायको चौथो वर्षको नियमित परीक्षा तोकिएको छ।

‘असारसम्म हामीले कोरोना भाइरस र जेनजी आन्दोलनदेखि नियमित हुन नसकेका परीक्षा सम्पन्न गरेर आगामी साउनदेखि त्रिविकै शैक्षिक पात्रोअनुसार नियमित परीक्षा गर्ने छौँ,’ उनले भने। अहिले सञ्चालन भइरहेका ती परीक्षामा करिब एक लाख १५ हजार परीक्षार्थी सहभागी भएका छन्।

परीक्षा नियन्त्रण कार्यालयले सय दिनमा नै परीक्षाफल प्रकाशित गर्ने गरेको छ। परीक्षा सम्पन्न भएको सय दिनमा परीक्षाफल प्रकाशित गर्न थालिएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए।