माउन्ट एभरेष्ट पावरको आइपीओ निष्कासन, सुरुमा स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई



बिजमाण्डू
२०८३ बैशाख १७ गते ११:१६ | Apr 30, 2026
माउन्ट एभरेष्ट पावरको आइपीओ निष्कासन, सुरुमा स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई


काठमाडौं। माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आइपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई बिहीबारदेखि सेयर निष्कासन गरेको हो।

Vigo
GBIME
Tata

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ८ करोड ६० लाख रुपैयाँ बराबरको ८ लाख ६० हजार कित्ता सेयर छुट्याएको छ।

अति प्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-१ र २ का स्थानीयलाई ३ करोड ४४ लाख रुपैयाँ बराबरको ३ लाख ४४ हजार कित्ता सेयर वितरण गर्न लागेको छ।

कम्पनीले प्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-१ र २ बाहेक अन्य वडाबासीलाई ५ करोड १६ लाख रुपैयाँ बराबरको ५ लाख १६ हजार कित्ता सेयर छुट्याएको छ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयले १० देखि १० हजार कित्ता सेयर खरिदका लागि वैशाख ३१ सम्म आवेदन दिन पाउनेछन्। त्यस अवधिमा माग अनुसार आवेदन नपरे जेठ १८ सम्म सेयर निष्कासन खुला रहने बिक्री प्रबन्धकले जनाएको छ।

यस्तै, वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कम्पनीले १ करोड ७२ लाख रुपैयाँ बराबरको १ लाख ७२ हजार कित्ता सेयर छुट्याएको छ। वैदेशिक रोजगारीमा गएका श्रमिकलाई २३ गतेसम्म आवेदन खुला रहनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल छ।

माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको छ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई सेयर निष्कासन गर्नेछ।

आइपीओ निष्कासनका लागि कम्पनीले गराएको रेटिङमा केयर रेटिङ नेपालले केयर एनपीडबलबी प्लस दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको जनाउँछ।

कम्पनीले १२ मेगावाटको दुधकुण्ड खोला जलविद्युत आयोजना सञ्चालन गरेको छ। आयोजना २ अर्ब ३६ करोड ९३ लाख रुपैयाँ लागतको हो।