काठमाडौं। ज्योति विकास बैंकले नाफा बढाएको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ६२ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको हो।
पोहोर सोही अवधिसम्ममा बैंकले ३० करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कर्जा नोक्सानी घटाएर ब्याज आम्दानी बढाउदा नाफा बढेको छ।
बैंकको खुद ब्याज आम्दानी ०.७८ प्रतिशत बढेर १ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। सञ्चालन आम्दानी ५५.३६ प्रतिशत बढेको छ। बैंकको खराब कर्जा बढेको छ। बैंकको खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.८३ प्रतिशत पुगेको छ।
खराब कर्जा घटेपनि बैंकले कर्जा नोक्सानी घटाउदा नाफासँगै लगानीमा समेत सकारात्मक प्रभाव देखिएको छ।
चैत मसान्तसम्म बैंकले ११ करोड ८४ लाख रुपैयाँमा कर्जा नोक्सानी छुट्याएको छ। बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७९ पैसा बढेर १९ रुपैयाँ ४३ पैसा पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात १९.४३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ४३ पैसा रहेको छ।
४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ७८ करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकले ६४ अर्ब ४९ करोड निक्षेप संकलन गरी ४७ अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।










