काठमाडौं। सालपा विकास बैंकको नाफा ऋणात्मक देखिएको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकको खुद नाफा ३१ लाख ८९ हजार रुपैयाँ ऋणात्मक छ।
पोहोर यसै अवधिमा बैंक ३५ लाख ८४ हजार रुपैयाँ खुद नोक्सानी थियो। ब्याज आम्दानीसँगै फी कमिसन बढ्दा नोक्सानीमा थोरै सुधार भएको छ। बैंकको खुद ब्याज आम्दानी ६.७७ प्रतिशतले बढेर ५ करोड ५७ लाख रुपैयाँ पुगेको छ। पोहोर ९ महिनामा बैंकले ५ करोड २२ लाख ब्याज आम्दानी गरेको थियो।
बैंकको सञ्चालन आम्दानी ४.४७ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ७.७० प्रतिशत बढेको छ। बैंकको खराब कर्जा ६.९२ प्रतिशतबाट घटेर ३.३५ प्रतिशतमा झरेको छ।
बैंकको कर्जा नोक्सानी घटेसँगै खराब कर्जा केही सुधार भएको छ।
चैतसम्म बैंकले बैंकले ९७ लाख ९८ हजार रुपैयाँमा कर्जा नोक्सानी छुट्याएको छ। बैंकको वितरणयोग्य मुनाफा १ करोड ६५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
गत चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ८१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ७५ पैसा रहेको छ।
५२ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ करोड ९५ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकले १ अर्ब ४९ करोड निक्षेप संकलन गरी १ अर्ब १९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।










