काठमाडौं। सम्पर्क नम्बर, फोटो, महत्त्वपूर्ण कागजात, इमेल, बैंक खाता, डिजिटल वालेट आदि सबैथोक एउटा मोबाइल सेटभित्र छ। त्यसैले हराउँदा, छुट्दा वा चोरीहुँदा कसैले पनि मोबाइल माया मार्दैन। सकेसम्म खोज्छ। यो चोरेर पनि चलाउन सजिलो छैन। सिम फेरेर चलाएको पत्ता लाग्छ। अर्काको मोबाइल सेट चलाउने अवश्य पक्राउ पर्छ। तैपनि मोबाइल हराउन र चोरी हुने घटना भने कम भइरहेको छैन।
पछिल्लो सात महिनामा काठमाडौंमा मात्र ६ हजारवटा मोबाइल हराएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंमा परेको उजुरीको आधारमा गत असोज महिनादेखि चैतसम्म ६ हजार ९० वटा मोबाइल हराएका हुन्। जसमा चोरी, लुटपाट र हराएका समेत जोडिएका छन्। यसरी हराएकामध्ये कम संख्यामा मात्र मोबाइल भेटिने गरेका छन्।
सोही अवधिमा प्रहरीले १ हजार ८९ वटा मात्र मोबाइल भेटाएको छ। यो करिब १८ प्रतिशत मात्र हो। प्रहरीले उजुरी परेपछि खोजी गर्दा विभिन्न कारणले मोबाइल नभेटिने गरेको दाबी गरेको छ। ‘सिमको प्रयोग नगर्ने, भारतमा लगेर बिक्री गर्ने, पार्टसहरु छुट्याएर बिक्री गर्ने गरेकाले भेटिने सम्भावनमा कम भएको हो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी भवन भट्टराईले भने।
पछिल्लो समय मोबाइल हराएपछि यसबाट हुने क्षति झन् डर लाग्दो देखिएको छ। चोरी भएका मोबाइलबाट त्यहाँ राखिएका बैंकिङ एप, वालेटमार्फत रकम झिक्ने समेत गरिएको छ। केही समूहले यसैको लागि पनि मोबाइल चोरी गर्ने गरेको देखिन्छ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा दैनिक सयवटाको हाराहारीमा मोबाइल हराएको र चोरी भएको भन्दै उजुरी पर्ने गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा काठमाडौंबाट मात्र १४ हजार ८ सय वटा मोबाइल हराएका थिए। जसको मूल्य ५० करोड रुपैयाँ भन्दा बढी थियो।
हराएकामध्ये यस वर्ष ४ हजार १ सय ६८ मात्र फेला परेका थिए।










