काठमाडौं । दुई महिनाअघि ‘HADES’ नामको युट्युट च्यानलमामा पोस्ट गरिएको एक भिडियोको कारण एक युवक प्रहरी हिरासतमा पुगेका छन्।
गत बिहीबार जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले फाल्गुनन्द गाउँपालिका-७ बस्ने युट्युबर रोशन पोखरेललाई पक्राउ गरेको हो।
प्रतिनिधिसभा निर्वाचन अगाडि नै उनले वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेलाई अश्लिल शब्द प्रयोग गर्दै भिडियो पोस्ट गरेका छन्। सो भिडियो पोस्ट गरेको दुई महिना पश्चात पोखरेल पक्राउ परेका हुन्।
त्यसो त उनले यसअघिका प्रधानमन्त्री र नेताहरूलाई पनि भिडियोमा गाली गर्ने गरेको देखिएको छ।
त्यस्तै, इस्ट्राग्राममा पनि केही दिनअघि उनले प्रधानमन्त्री बालनेलाई लक्षित गरेर केही भिडियो बनाएको देखिन्छ।
उनलाई प्रहरीले बिहिबार साइबर अपराध गरेको अभियोगमा समातेको हो। शुक्रबार जिल्ला अदालतमा उपस्थित गराएपछि उनलाई १० दिन हिरासत राख्ने अनुमति दिइएको छ।
‘साइबर ब्युरोका अनुसार पक्राउ गरेर अनुसन्धान गरिएको हो,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र शाहले भने।
प्रहरी शाहका अनुसार उनका विरुद्ध अहिलेसम्म कसैले उजुरी दिएको छैन। प्रहरीको सक्रियतामा नै उनी समातिएका हुन्।
आइतबार बिहानसम्म उनको भिडियो ५ हजार भन्दा कमले नै हेरेका थिए। उनी पक्राउ परेको खबर सार्वजनिक भएसँगै आज दिउँसोबाट त्यस भिडियोमा भ्यूज र स्क्राइबर गर्ने सङ्ख्या बढ्दै गएको छ।










