प्रकाशको फिरौती साम्राज्यको कथा: हिरासत लम्बिँदा खुल्दै अपराधको अँध्यारो पाटो



सविन ढकाल
२०८२ चैत्र २४ गते २०:५६ | Apr 7, 2026
प्रकाशको फिरौती साम्राज्यको कथा: हिरासत लम्बिँदा खुल्दै अपराधको अँध्यारो पाटो


काठमाडौं। फिलिपिन्स बसेर नेपालका व्यवसायीसँग फिरौती उठाएको अभियोगमा माघ २८ गतेदेखि हिरासतमा छन् प्रकाश पाठक। ‘ज्यान लिने’ धम्की दिँदै व्यवसायी मात्र होइन, संवैधानिक निकायका प्रमुखलाई समेत तर्साउने पाठकलाई प्रहरीले फिलिपिन्सबाट पक्राउ गरी नेपाल ल्याएको हो।

Tata
GBIME

‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नामबाट हाइ प्रोफाइललाई धम्क्याउने र रकम असुली गर्ने अभियोगमा उनी पक्राउ परेपछि सुरु भएको अनुसन्धानले रोचक सन्दर्भ खुल्ने क्रम जारी छ। पाठकमाथिको अनुसन्धान लम्बिँदा उनीबाट पीडित हुनेको संख्यामात्र होइन, अन्य अपराधीको पनि नाम खुल्दै गएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले हिरासतमा लिएर अभियुक्त पाठकमाथि अनुसन्धान गरिरहेको छ। उनीविरुद्ध ‘ज्यान मार्ने आपराधिक षड्यन्त्र गर्न नहुने, आपराधिक लाभ लिन नहुने, संगठित अपराध र सम्पत्ति शुद्धीकरण’मा समेत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। सम्पत्ति शुद्धीकरणको केसमा प्रहरीले अभियुक्तलाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ। यही आधार टेकेर उनीमाथि अनुसन्धान जारी छ।

उनीमाथिको अनुसन्धानमा सरकारी अधिकारदेखि बैंकको उच्चपदस्थ अधिकारी पनि तानिएका छन्। ठेक्कापट्टा गर्ने व्यक्तिदेखि मिडिया सञ्चालकसमेत यस प्रकरणमा तानिँदा ‘लहरो तान्दा पहरो गर्जने’ स्थिति बनेको छ।

यस प्रकरणमा व्यावसायिक घराना, कर्मचारी मात्र होइन, भारतीय तान्त्रिकको समेत प्रवेश भएको छ। यसले प्रहरी अनुसन्धानलाई थप रोचक बनाएको छ। अहिलेसम्म प्रहरीले पाठकसहित तीन जना मात्र पक्राउ गरेको छ, यस प्रकरणमा। बाँकी भने अनुसन्धानको दायराभित्र छन्।

पक्राउ परेपछि प्रकाश पाठकका अपराधका अन्य थ्रेडहरू पनि लगातार खुलेको छ। २०७० सालयता उनीमाथि ठगीदेखि धम्कीसम्मका सात वटा मुद्दा चलेको भेटिएको छ। फिलिपिन्समै रहेर नेपालका व्यापारीसँग फिरौती असुल्ने गरेको तथ्य पनि प्रहरीले फेला पारेको छ।

मुद्दा दर्ता मितिमुद्दा शीर्षकमुद्दा दर्ता भएको प्रहरी कार्यालय
२०७०।०३।०८  सार्वजनिक अपराधप्रहरी वृत्त बौद्ध
२०७६।०२।२३  ठगीजिल्ला प्रहरी परिसर काठमाडौं
२०७०।०३।०९  सार्वजनिक अपराधप्रहरी वृत्त बौद्ध
२०८०।०८।२६  ठगी जिल्ला प्रहरी परिसर काठमाडौं
२०८२।०८।१५  आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने र आपराधिक षड्यन्त्र गर्न नहुने समेतको कसुरजिल्ला प्रहरी परिसर काठमाडौं
२०८२।१०।११  ठगी  जिल्ला प्रहरी परिसर काठमाडौं
२०८२।१०।१३  ठगीजिल्ला प्रहरी परिसर काठमाडौं
तथ्याङ्क स्रोतः नेपाल प्रहरी

काठमाडौंको एक डेन्टल अस्पतालका सञ्चालकसँग प्रकाशले ५ लाख रुपैयाँ फिरौती मागेका थिए। धम्कीको भरमा यसरी मागेको रकम खरेल थरका एक व्यक्तिले खोलेको बैंक खातामा जाने गरेको तथ्य प्रहरीले फेला पारेको छ। बैंक खाता भने एउटा फेन्सी स्टोरको नाममा खोलिएको पाइएको छ। ती फेन्सी स्टोरका सञ्चालक पनि दुबई बस्दै आएको देखिन्छ। उनको पाठकसँग बारम्बार सम्पर्क भएको अनुसन्धानले देखाएको छ।

‘नेपालका “टप-टप” व्यापारीले पनि रकम बुझाएको बयान दिएका छन्। अख्तियार प्रमुखले समेत धम्की आएको जानकारी गराउनुभएको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

फिरौतीले लामो हिरासत यात्रामा रहेका प्रकाश पढाइमा अस्थिर तर अब्बल देखिएका छन्। उनले १० कक्षासम्मको पढाई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको सिद्धार्थ बोर्डिङ स्कुलबाट गरेका छन्। त्यसपछि भक्तपुरको सानो थिमिमा रहेको एसओएस कलेजबाट विज्ञान संकायमा १२ पूरा गरे।

त्यसपछि उनी काठमाडौं मेडिकल कलेजको बीडीएस कार्यक्रममा भर्ना भएका थिए। भर्ना भएको चार महिनापछि ‘ट्रान्स्फर’ लिएर वसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज भर्ना गरेको देखिन्छ। उक्त कलेजमा दोस्रो वर्षसम्म मात्र अध्ययन गरेको देखिन्छ। त्यसपछि उनी वसुन्धरामै रहेको हेराल्ड कलेज भर्ना भए र बीएसडब्लु पढ्न थाले। त्यसपछि एक्टिभ कलेजबाट राजनीति शास्त्रमा उनले स्नातकोत्तर पूरा गरेको देखिन्छ।

त्यसबिच उनी विद्यार्थी राजनीतिमा पनि जोडिएको देखिन्छ। राजनीतिक पार्टी भातृ संगठनबाट रुस भ्रमण गरेको देखिन्छ। त्यसपछि उनी विदेश पठाउने ‘धन्दा’सँग गाँसिएको अनुसन्धानले देखाएको छ। नेपालीलाई रुस तथा अन्य युरोपेली मुलुकमा भिजिट भिसामा पठाउने कारोबारमा उनी जोडिए। वसुन्धरामै उनले म्यानपावर कम्पनीसमेत खोलेर कारोबार गरेको देखिन्छ। त्यसपछि उनी नेपाली फिल्ममा लगानीकर्ताका रूपमा पनि भित्रिए। कोभिड-१९ का कारण उनले लगानी गरेको फिल्म प्रभावित बन्यो।

नेपालमा रहँदा प्रकाश नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघमा आबद्ध भएको देखिन्छ। उनी पेशागत विभाग सदस्यका रूपमा राजनीतिमा जोडिएका थिए। त्यहाँ रहँदा हो उनको इन्जिनियरिङ एसोसिएसनमा आबद्ध प्रदीप अधिकारीसँग चिनजान भएको। प्रदीप क्यानका पूर्वमहानिर्देशक हुन्। अधिकारी भ्रष्टाचार मुद्दामा अदालतको आदेशले पुर्पक्षको लागि थुनामा छन्।

म्यानपावर र फिल्म दुवै कारोबार ‘असफल’को यात्रामा थिए प्रकाश। तर उनको राजनीतिक ‘कारोबार’ भने चलिरहेकै थियो। २०८० साउन १ गते उनी एसिया प्यासिफिक फ्युचर लिडर कन्फरेन्सका लागि मलेसिया गए। चार दिनको उक्त कार्यक्रम सकेर भारत हुँदै नेपाल भित्रिए। त्यतिखेर उनीमाथि ठगीको उजुरी परिसकेको थियो। प्रहरीले अनुसन्धान गरेर उनलाई पक्राउको तयारी गर्दै थियो। उनीमाथिको अनुसन्धान हुँदैछ भन्ने सूचना चुहिनासाथ उनी काठमाडौंबाट भैरहवा हुँदै भारत छिरेको देखिन्छ।

केही समय भारतमै रहेर उनले धन्दा थाले -विदेश पठाउने। प्रतिव्यक्ति १० देखि १५ लाखसम्म लिएर उनले भिजिट भिसामा न्युजिल्यान्ड पठाउन थालेका थिए। अपराधका गतिविधिमा ‘अब्बल’ बनिसकेका प्रकाशसँग भारतीय आधार कार्ड र बैंक खाता समेत थियो। उनले सिंगापुर, मलेसिया, फिलिपिन्स, जापानलगायतका विभिन्न देशहरूमा भारतबाट भिसा लगाएर ओहोरदोहोर गरेको पनि प्रहरी अनुसन्धानले देखाएको छ।

ठगी केसमा फसिने डरले नेपालबाट फरार प्रकाश अब संगठित रूपमा नै आपराधिक गतिविधि गर्ने निधोमा पुगे। त्यसका लागि उनले ‘राष्ट्रवादी’ देखिने गरी संगठनको नामकरण गरे – इम्पावरिङ ग्रुप अफ नेपाल। यो संस्था उनले फिलिपिन्समा रहेर स्थापना गरे। जसको उद्देश्य राखे – नेपालका भ्रष्टाचारी कर्मचारी तथा विवादित व्यापारीलाई तह लगाउने।

‘इम्पावरिङ ग्रुप अफ नेपाल’ आफैँमा भलाद्मी नाम भएकाले उनको लक्ष्यअनुरूप काम भएन। त्यसपछि उनले अलिक अत्त्याउने खाले नाम सुझाए- एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल। अक्टोबर १, २०२५ मा खुलेको यो संगठनको मिति चिनियाँ क्रान्तिको मितिसँग मिल्छ। त्यसो त यो मितिले सन् १९१७ भएको ‘अक्टोबर क्रान्ति’ को रेफरेन्स लिएजस्तो पनि देखिन्छ।

क्रान्तिसँग जोडेर सुरु भएको एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपालको लेटर प्याडबाट नै हो प्रकाशले नेपालका व्यावसायिक व्यक्तित्वदेखि संवैधानिक निकायका प्रमुखलाई समेत धम्क्याउन सुरु गरेको। उनले व्यापारी तथा कर्मचारीसँग असुल्ने रकम हुन्डीमार्फत फिलिपिन्स पुर्‍याएको प्रहरी अनुसन्धानमा खुलेको छ। अनुसन्धान जारी नै रहेकाले प्रहरीले थप विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन। उनीसँगै जोडिएका अरू पीडक र पीडितबारे प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।

पाठक पूर्वमहानिर्देशक प्रदीप अधिकारीबाट परिचालन भएको खुलेको छ। त्यसैसँग अर्का व्यापारी नवीन बस्नेतको पनि कनेक्सन देखिएको छ। प्रदीप माथिको अनुसन्धान हुँदा बस्नेत र अन्य पात्रहरू पनि जोडिँदै आएका छन्। फिलिपिन्स रकम पठाउन चिनियाँ व्यापारी प्रयोग गरी हुन्डी कारोबार भएको खुलेको छ।