डिश होमको कर्मचारी भन्दै ग्राहकसँग अफरको प्रलोभनमा ठगी, आरोपित तीनजना पक्राउ



बिजमाण्डू
२०८२ चैत्र २४ गते १०:०४ | Apr 7, 2026
डिश होमको कर्मचारी भन्दै ग्राहकसँग अफरको प्रलोभनमा ठगी, आरोपित तीनजना पक्राउ


काठमाडौं। ‘डिश होमको कर्मचारी हौं’ भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। अफर आएको भन्दै धमाधम पैसा उठाएको खुलेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

Tata
GBIME

पक्राउ पर्नेमा आरती सिंखडा, विष्णु कार्की र असल सिंह तामाङ छन्। उनीहरुले डिश होमका ग्राहकलाई फोन गरी ‘एक वर्षको रिचार्ज गर्दा चार महिनाको निःशुल्कको अफर आएको छ’ भनी झुक्यानमा पारी ठगी गर्ने गरिरहेको खुलेको हो। उनीहरुका साथबाट डिस होमको कार्ड, रसिद लगायतका कागजपत्र बरामद भएको छ।

प्रहरीका अनुसार सिंखडाले अन्दाजी चार वर्ष डिस मिडिया नेटवर्क अन्तर्गतको सबडिलरमा काम गरेको खुलेको छ। उनले डिश होमका ग्राहकलाई फोन गरेर सेवा रिचार्जका लागि आवश्यक पर्ने रकम आफ्नो र श्रीमानको बैंक खाता र डिजिटल वालेटमा ट्रान्सफर गर्न लगाउने गरेको पाइएको हो।

हालसम्म ३ सय ६४ जनाबाट त्यसरी रकम ठगी गरेको खुलेको छ। यसमा २९ लाख रुपैयाँभन्दा बढी सिंखडाले उठाएको अनुसन्धानमा पाइएको प्रहरीका एक अधिकृतले बताए। ठगी गर्न सिंखडाका लागि कार्की र तामाङ सहयोगी देखिएका छन्।