काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटका लागि ५ लाख डलर छुट्याउने भएको छ। क्यानको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले महिला क्रिकेटका लागि ५ लाख अमेरिकी डलर (करिव ७ करोड ४० लाख) छुट्याउने निर्णय गरेको हो।
‘आईसीसी फण्डिङको निर्देशन बमोजिम आईसीसीबाट यस संघलाई वार्षिक रूपमा प्राप्त हुने बजेटबाट महिला क्रिकेट खेलको विकासका लागि ५ लाख युएस डलर लगानी गर्नु पर्ने भएको हुँदा यस वर्षदेखि समग्र महिला क्रिकेटको विकासमा ५ लाख डलरको लगानी गर्ने निर्णय गरिएको छ।’ क्यानको निर्णयमा भनिएको छ।
सम्बन्धित समाचार: एनपीएल दोस्रो संस्करणमा क्यानले कमायो ४७ करोड ३६ लाख, नाफा ९ करोड २१ लाख
आजकै कार्यसमितिले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको हिसावकिताव पनि अनुमोदन गरेको छ। केन्द्रीय समितिको बैठकमा उपाध्यक्ष लगायत आधादर्जन बढी सदस्यहरु अनुपस्थित रहे पनि बहुमतको आधारमा निर्णय गरिएको हो।











